भदौ २७ । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आज (शनिबार) बाट सुरु हुदैछ।
प्रिमियर लिगको २०२०/२१ को सिजन अन्तर्गत पहिलो दिन चार खेल हुनेछ।
साविक विजेता लिभरपुलले शनिबार लिड्स युनाइटेडसँग खेल्दै सिजनको सुरुवात गर्नेछ।
लिभरपुल र लिड्सबीचको खेल नेपाली समय अनुसार राति सवा १० बजे सुरु हुनेछ।
घरेलु मैदानमा लिड्सविरुद्ध मैदान उत्रदा लिभरपुल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ।
तुलनात्मक रुपमा लिभरपुल लिड्स भन्दा बलियो टिम हो। तर, नौलो प्रतिद्वन्दी लिड्सविरुद्ध लिभरपुल सजग भएर खेल्नेछ।
लिड्सविरुद्ध लिभरपुललाई चोटको समस्या हुने छैन। जोर्डन हेन्डरसन र जोएल माटिप पनि चोटबाट मुक्त भईसकेका छन्।
१६ वर्षपछि प्रिमियर लिगमा फर्किएको लिड्स पनि सुखद सुरुवात गर्ने योजनामा हुनेछ। लिड्स च्याम्पियनसिपको उपाधि जित्दै प्रिमियर लिगमा बढुवा भएको हो।
प्रिमियर लिगका लागि लिड्सले भ्यालेन्सियाबाट स्पेनिस स्ट्राइकर रोड्रिगोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको छ।
लिभरपुल र लिड्सबीच पछिल्लो पटक सन् २००१ मा प्रतिस्पर्धा भएको थियो। प्रिमियर लिगको उक्त खेलमा लिड्सले लिभरपुलमाथि एनफिल्डमा २-१ ले जित निकालेको छ।
यस्तै आर्सनलले फुलहमसँग खेल्नेछ। फुलहमको मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ।
गत सिजन उत्कृष्ट प्रदर्शन गर्न नसकेको आर्सनल यस सिजन उत्कृष्ट प्रदर्शनको योजनामा रहेको छ।
फुलहमविरुद्ध सहज जित निकाल्दै आर्सनल सुखद सुरुवात गर्न चाहन्छ।
च्याम्पियनसिपको प्ले अफको उपाधि जित्दै प्रिमियर लिगमा बढुवा भएको फुलहम पनि सुखद सुरुवातको योजनामा हुनेछ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा क्रिस्टल प्यालेस र साउथह्याम्पटनबीच खेल हुनेछ। दुई टोलीबीचको खेल पौने ८ बजे सुरु हुनेछ।
नेपाली समय अनुसार राति पौने १ बजे हुने खेलमा वेस्ट ह्याम र न्युकासलबीच प्रतिस्पर्धा हुनेछ। एजेन्सी


























