काठमाडौं, भदौ २७ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शनिबार (आज) बाट ५८औं वर्षमा प्रवेश गर्दै छ। २०२० सालको २७ भदौमा स्थापना भएको सरकारी स्वामित्वमा सञ्चालितसाल्ट ट्रेडिङ कर्पोरेसनलेसहज र सुपथ मूल्यमा खाद्य तथा उपभोग्य वस्तु बिक्री गरेर मुलुकको आपूर्ति प्रणालीमा टेवा दिँदै आएको छ ।
साल्ट ट्रेडिङले अहिले कोरोना भाइरस महामारीबीच पनि बाहिरको बजार मूल्यभन्दा सहुलियत दरमा सहज रूपमा उपभोक्ताको घरघरमा खाद्य तथा उपभोग्य वस्तुउपलब्ध गराउँदै आएको छ।
लामो समय लकडाउन भएर खाना पकाउन समस्या हुने अनुमान गरेका अन्य व्यापारीले आफूसँग भएका ग्यास लुकाएर बढी मूल्यमा बिक्री गर्ने कामसमेत गरेका थिए। त्यसबेला समस्यामा परेका मुलुकवासीलाई सहज रूपमा ग्यास आपूर्ति गराउन महत्वपूर्ण भूमिका खेलेको साल्ट ट्रेडिङ कर्पोरेसनले बजारमा हस्तक्षेप गर्दै आफूसँग भएको ग्यास सरकारले तोकेको मूल्यमा नै सहज रूपमा उपभोक्ताको घरमा पु¥याएको थियो।
करिब ६ महिनाभन्दा बढीको लकडाउन र निषेधाज्ञाको असहज अवस्थामा पनि साल्ट ट्रेडिङले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ६ वटा बिक्री कक्ष र चारवटा मोबाइल भ्यानमार्फत खाद्य तथा उपभोग्य बस्तु बिक्री गर्दै आएको छ। अहिले काठमाडौं उपत्यकाको सतुंगल, कालिमाटी, कोटेश्वर, भक्तपुर र कंलकीमा आफ्नो बिक्री कक्ष राखेर साल्ट ट्रेडिङ कर्पोरेसनले निरन्तर सेवा प्रदान गर्दै आएको छ। यसैगरी,चारवटा मोबाइल भ्यानबाट काठमाडौं उपत्यकाभर हरेक उपभोक्ताको घरघरमै सेवा प्रवाह गर्दै आएको छ। उपत्यका बाहिरका सहरमा पनि साल्ट ट्रेडिङले आवश्यक सेवा प्रदान गर्दै आएको छ।
त्यसैगरी,कृषकलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराइरहेको छ। अहिले अधिकांश किसानले मल नपाएको अवस्थामा जिम्मेवारी पाएका अन्य निकायले समयमा मल आयात गर्न नसकेको भन्दै साल्ट ट्रेडिङ कर्पोरेसनले मल आपूर्तिलाई विशेष प्राथमिकतामा राखेर अघि बढिरहेको छ। कोरोना महामारीकैबीचमा पनि ३२ हजार मेट्रिक टन रासायनिक मल आयात गरेको साल्ट ट्रेडिङ कर्पोरेसनअझै थप मल आयातको तयारीमा जुटेको छ।
साल्ट ट्रेडिङ कर्पोरेसनले सुरुमा नुन आपूर्तिको जिम्मा पाएको थियो। त्यसबेला नेपालमा नुन आपूर्तिकोकुनै विश्वसनीय संयन्त्र थिएन। सो समय निजी क्षेत्रले नुन आयात गरी बिक्री गर्दै आएका थिए। तर, त्यसरी बिक्री गरिएको नुन गुणस्तरीय थिएन। त्यसमाथि यातायात, भण्डारणलगायत समस्याका कारण आममुलुकवासीलाई सहज र पर्याप्त मात्रामा नुन पुर्याउन सकिने अवस्था थिएन। सोही कठिनाइमध्यनजरगरी तत्कालीन सरकारले यसकर्पोरेसन स्थापना गरेको थियो। सुरुका केही समय नुन आपूर्तिगरेको यस कम्पनीले विस्तारै पछिल्ला वर्षमा आफ्नो व्यवसाय र सेवा विस्तार गरी अहिलेको अवस्थामा आइपुगेको हो।
स्थापना कालमा नुनको कारोबार थालेको कर्पोरेसनले क्रमशः आफनो लगानीको दायरा विस्तारगरीअहिले अत्यावश्यक खाद्यान्न, ग्यास, चिनी, रासायनिक मल र छापाखानालाई आवश्यक कागजको कारोबारमा समेत अग्र भूमिका निवारण गर्दै आएको छ। हालसाल्ट ट्रेडिङ कर्पोरेसनको चुक्तापुँजी करिब १५ करोड ३५ लाख रुपैयाँभन्दा बढी रहेको छ। यसमा सर्वसाधारणको २१ प्रतिशत सेयर छ भने बाँकी सरकार र अन्य संस्थागत लगानीकर्ताको सेयर रहेको छ । हाल यस कम्पनीको वार्षिक कारोबार करिब १० अर्ब रुपैयाँभन्दा बढीको छ।


























