काठमाडौं, भदौ २५ । पछिल्लो २४ घण्टामा देशभर थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितमध्ये ३१७ पुगेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ।
पछिल्लो २४ घण्टामा १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या ३५ हजार ७०० पुगेको छ। यो कुल संक्रमितको ७१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।
नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार भन्दा बढी पुगेको छ। पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ जना पुगेको प्रवक्ता डा.गौतमले बताए।
हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ छ। ८ हजार १० जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ४३८ होम आइसोलेसनमा छन्।
११ हजार ४४४ जनाको आज पिसिआर परीक्षण भएसँगै ८ लाख १० हजार ४८५ जनाको परीक्षण भएको छ। हाल ५ हजार ८०६ जना क्वारेन्टाइनमा छन्।


























