चितवन, भदौं २५ । जितिया पर्वको अवसरमा थारु कल्याणकारिणी सभा (थाकस) चितवनले ‘थाकस शैक्षिक विकास छात्रवृत्ति अक्षयकोष’ नामक एक छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ।
बिहीबार कोष स्थापना गरेर सभाले देशविदेशमा रहेका व्यक्तिहरुलाई कोषका लागि आर्थिक सहयोग रकम जम्मा गर्न आह्वान गरेको हो।
जितिया पर्वको अवसरमा थाकस चितवनले अक्षयकोषको निर्देशिका पारित गरी कोषमा रकम सहयोग गर्न आह्वान गरेपछि मनोज महतो र उषा महतो दम्पतीले एक लाख एक रुपैयाँ नगद सहयोग जम्मा गरेको थाकस चितवनका जिल्ला सभापति ललितकुमार चौधरीले जानकारी दिए। अक्षयकोषका लागि धेरै व्यक्तिहरुले आर्थिक सहयोग गर्ने आश्वासन दिएको जिल्ला सदस्य एवम् थाकसको शिक्षा तथा प्रशिक्षण विभागका संयोजक जीतबहादुर महतोले बताए। आर्थिक सहयोग गर्न इच्छुक व्यक्तिहरुले थारु कल्याणकारिणी सभा चितवनको लक्ष्मी बैंकमा रहेको खाता नं.००८११०३७७६३ मा रकम जम्मा गर्न सकिने जनाइएको छ।
थारु कल्याणकारी सभा चितवनले अक्षयकोष स्थापना गरे लगत्तै कोषमा भरतपुर महानगरपालिका–२७ पर्साढापका मनोज महतो र उषा महतोले एक लाख रुपैयाँ सहयोग गरेकाहुन्।
थारु समुदायमा शैक्षिक अवस्था र विद्यार्थीहरुको संघर्ष देख्दै आइरहेको र आफैंले पनि विद्यार्थी जीवनकालमा भोग्दै आएकोले अक्षयकोष स्थापनाका लागि सहयोग गरेको मनोज चौधरीले बताए।


























