भदौ २४ । अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित राजधानी काबुलमा बम बिस्फोट हुँदा उनका अंगरक्षकसहित १० जनाको मृत्यु भएको छ। अन्य ५ जना गम्भीर घाइते भएका छन्।
उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलमै आत्मघाती बम बिस्फोट गराइएको प्रहरीले जनाएको छ।
स्रोतलाई उद्धृत गर्दै पझोक सामाचार संस्थाका अनुसार उपराष्ट्रपति सालेहलाई भने भौतिक रुपमा केही भएको छैन। उपराष्ट्रपति सालेहका छोराले आफ्ना पिता थोरै छलिएकाले केही हुन नपाएको जानकारी दिएका छन्।
‘उहाँसहित हामी सवार सवारी साधनलाई नै लक्षित गरेर आक्रमण भएको थियो, तर गाडीमा भएका सबै जना सुरक्षित रहन सफल भएका छौँ,’ उपराष्ट्रपतिका छोरा एबाद सालेहले सामाजिक सञ्जालमा लेखेका छन्।
स्थानीय समय अनुसार बुधबार विहान साढे सात बजे बिस्फोट भएको खबर प्रहरीलाई प्राप्त भएको थियो। त्यसपछि प्रहरी तत्कालै घटनास्थलमा गएको थियो।
घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेबारी नलिएको र अनुसन्धान शुरु भइसकेको प्रहरीले जनाएको छ। एजेन्सी


























