काठमाडौं, भदौ २२ । सरकारले काठमाडौंमा लगाएको जग्गा कित्ताकाटको प्रतिबन्ध खुला गरेको छ। भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले मन्त्रीस्तरिय निर्णयमार्फत जग्गा कित्ताकाटमा रहेको प्रतिबन्ध हटाएको हो। नयाँ नियममा कित्ता काटको सहज व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
जग्गाको कित्ताकाट रोकिँदा विकृति बढेको र सरकारलाई राजस्वमा समेत कमी आएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही समयअघि जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाउन सुझाव दिएको थियो।
जग्गा कित्ताकाटमा प्रतिबन्ध लगाए पनि घुमाउरो बाटोबाट जग्गाको कित्ताकाट नरोकिएको भन्दै अख्तियारले सुझाव दिएपछि मन्त्रालयले जग्गा कित्ताकाट खुलाउने तयारी गरेको थियो।
मन्त्रालयले शुक्रबारदेखि नै नयाँ व्यवस्था अनुसार कित्ताकाटको प्रतिबन्ध फुकुवा भएको जानकारी गराउँदै भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा नापी विभागलाई पत्राचारसमेत गरेको छ।


























