भदौ २१ । युद्धको क्रममा ज्यान गुमाएका अमेरिकी सैनिकका बारे गरेको असभ्य टिप्पणीलाई लिएर यतिखेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आलोचित भएका छन्।
यस्तो टिप्पणीबारे खुलासा गरेको भन्दै ट्रम्प द एट्लान्टिक म्यागजिनका पत्रकारमाथि पनि खनिएका छन्।
ट्रम्पले युद्धका क्रममा ज्यान गुमाएका अमेरिकी सैनिकलाई ‘लुजर्स’ र ‘बुद्धु’ भनेको खबर सबैभन्दा पहिले द एट्लान्टिकका गोल्डबर्गले लेखेका थिए।
त्यसपछि अन्य सञ्चारमाध्यमले पनि यो खबरको पुष्टि गरेका थिए। द एट्लान्टिकका अनुसार ट्रम्पले सन् २०१८ मा फ्रान्स भ्रमणमा रहेका बेला पेरिसको बाहिरी क्षेत्रमा रहेको अमेरिकी सेमेट्रीको यात्रा रद्द गरेका थिए।
उनले सेमेट्री ‘हारेकाहरुले भरिएको’ भन्दै यात्रा रद्द गरेको म्यागेजिनको दाबी छ। पूर्व अमेरिकी सैनिकहरुको समूह र सैनिकका परिवार तथा आफन्तहरुले अहिले ट्रम्पको आलोचना गरिरहेका छन्।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसले भने ट्रम्पको यात्रा खराब मौसमका कारण रद्द भएको बताएको थियो।
ट्रम्पले यो खबर झुठो भएको दाबी गर्दै पत्रकारलाई निच भनेर गाली गलौज गरेको अमेरिकी सञ्चारमाध्यममा जनाइएको छ।
उनले यो बेकार पत्रिकाको घृणित कार्य भएको आरोप लगाएका छन्। तलब भत्ता, सुविधा बढाएर मुलुकका यी नायक सेनाको आफुले जति कदर आजसम्म कसैले नगरेको पनि ट्रम्पले दाबी गरेका छन्। (एजेन्सी)


























