भदौ १९ । यूईएफए नेसन्स लिग फुटबलमा जर्मनी र स्पेनले १–१ गोलको बराबरी खेलेका छन्।
बिहिबार राति समूह जीको खेलमा जर्मनी र स्पेनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
खेलको ५१ औं मिनेटमा टिमो वार्नरको गोलमा जर्मनीले अग्रता बनाएको थियो। गोसेन्सको पासलाई सदुपयोग गर्दै वार्नरले जर्मनीलाई अघि बढाएका थिए। वार्नर भर्खरैमात्र ५४ मिलियन पाउण्डमा लण्डन क्लब चेल्सीसंग आबद्ध भएका छन्।
हारतर्फ उन्मुख स्पेनले दोस्रो हाफको इन्जुरी समयमा बराबरी गोल फर्कायो। रोड्रिगोको पासमा जोसे गायाले खेलको अन्तिम मिनेटमा स्पेनकालागि बराबरी गोल फर्काएका थिए।
प्रिमियर लिगको नवप्रवेशी क्लब लिड्समा क्लबको कीर्तिमानी २६ मिलियन पाउण्डमा आबद्ध भएका स्पेनका फरवार्ड रोड्रिगोले दुई सुन्दर अवसर गुमाएका थिए।
दुवै टिम झण्डै १० महिनापछि अन्तराष्ट्रिय फुटबलमा फर्किएका हुन्।
स्पेनको राष्ट्रिय टिमको जिम्मेवारी एनरिकले दोस्रो पटक सम्हालेका हुन्। बार्सिलोनाका पूर्व प्रशिक्षक एनरिकेले खेलमार्फत राम्रो संकेत दिएका थिएका छन्।
म्यान्चेष्टर सिटीमा आबद्ध नयाँ खेलाडी फेरन टोरेसको प्रर्दशन नयाँ थिएन। झण्डै २० मिलियन पाउण्डमा सिटी गएका टोरेसले आत्मविश्वासका साथ खेल प्रर्दशन गरेका थिए।
दोस्रो हाफमा उनको स्थानमा बार्सिलोनाका युवा स्टार अंशु फातीले डेब्यु गरेका थिए। १७ बर्षको उमेरमा फातीले स्पेनको राष्ट्रिय टिमबाट डेब्यु गरेका हुन्।
स्पेनका गोलकिपर डी जियाले केही राम्रा प्रहारलाई जोगाएका थिए।
सन् २०१० को विश्वकप फाइनलपछि युरोपेली फुटबलका दुई पावर हाउस देश पहिलो भेटेका हुन्।
जर्मनीको टिममा गत महिना च्याम्पियन्स लिगको उपाधि जितेका अधिकांश खेलाडी समावेश थिएनन्।
सोही समूहको अर्को खेलमला युक्रेनले स्विटजरल्याण्डलाई २–१ ले हराउँदै ३ अंक बटुल्यो। एजेन्सी


























