काठमाडौं, भदौ १९ । गृहमन्त्री रामबहादुर थापा बागलुङको ढोरपाटन नगरपालिका ९ को बोबाङमा गएको पहिरोको अवस्था बुझ्न त्यसतर्फ प्रस्थान गरेका छन्। हिजै घटनास्थल गएका थापासहितको टोली खराब मौसमका कारण फर्किएको थियो।
आज सांसद देवेन्द्र पौडेलसहित उद्धार टोलीसहित मन्त्री थापा त्यसतर्फ गएका हुन्।
बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ।
पहिरोमा परी २४ जना बेपत्ता छन्। शव सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ। शव भेटिएका १० जनाको अझै सनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए।
उनीहरुको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। पहिचान भएकाहरुको पोष्टमार्टमको काम आज हुनेछ। घटनामा बेपत्ताको आज बिहानैदेखि खोजी शुरु भएको रेग्मीले बताए।


























