काठमाडौं, भदौ १८ । गृहमन्त्री रामबहादुर थापा बादल चढेको हेलिकोप्टर पोखरा फर्किएको छ। काठमाडौंबाट बिहीबार बाग्लुङ उडेको हेलिकोप्टर मौसम बिग्रेपछि जान नसकेकाले पोखरा फर्किएको हो।
गृहमन्त्री हेलिकोप्टरमा बागलुङको ढोरपाटनका बाढीपहिरो पीडितका लागि राहत लिएर गएका थिए। गृहमन्त्रीसहित बागलुङका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल सवार हेलिकप्टर राहत लिएर बागलुङको बाढी प्रभावित क्षेत्रमा गएको थियो।
बाग्लुङ्को ढोरपाटनका बाढीपीडितका लागि राहत लिएर गएको हेलिकप्टर स्याङ्जा पुगेपछि मौसम खराब भएकाले पोखरा फर्किएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए। उनका अनुसार मौसम अनुकूल भएपछि हेलिकप्टर पुनःराहत लिएर ढोरपाटन प्रस्थान गर्नेछ।
हेलिकप्टरमा दैनिक उपभोग्य सामग्रीसहित तत्कालका लागि आवश्यक पर्ने त्रिपाल, टेन्ट, म्याटलगायतका राहत सामग्री रहेको जनाइएको छ।


























