गोरखा । नेपाली कांग्रेसका नेता तथा गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले कोरोना कहरका कारण देश नै ठप्प भएको बेला पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै खेद प्रकट गरेका छन्। यस्तो महासंकटका बेला जनतालाई राहत दिनुपर्नेमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर आहात थपेको उनले बताए। ‘जनतालाई दैनिकी चलाउनै हम्मेहम्मे परेको समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने सरकारको निर्णयप्रति खेद प्रकट गर्दछु,’ उनले भने। पेट्रोलियम पदार्थमा मूल्य वृद्धि हुँदा नुनदेखी सुनसम्मको मूल्य बढ्ने हुनाले यसबाट जनताको दैनिक जीवनयापनमा प्रत्यक्ष असर पर्न उनको भनाइ छ। पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरी तत्काल मूल्य घटाउनसमेत उनले माग गरे।
साथै धान रोपाईं सकिएको लामो समय बितिसक्दा पनि सरकारले कृषकलाई युरिया मल आयात गरी समयमै उपलब्ध गराउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। मल नपाउँदा धानखेती बिग्रने जोखिम रहेको हुँदा किसानलाई तत्काल मल उपलब्ध गराउन उनले माग गरे। देश कोरोना कहरका कारण आर्थिक संकटतर्फ अघि बढिरहँदा पनि सरकार कमिशन र चलखेलमा लिप्त हुँदै जनतालाई थप आहत दिएको उनको आरोप छ।


























