काठमाडौं, भदौ १८ । स्वास्थ्य र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले आज बिहीबारदेखि घोषणा गरिएको सत्याग्रह स्थगित गरिएको जनाएका छन्। सरकारले आफ्ना माग पूरा नगरे कुनै पनि बेला सत्याग्रह सुरु गर्ने चेतावनी पनि उनले दिएका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रम सुरु गर्नुपर्ने माग राखी आज भदौ १८ देखि सत्याग्रह गर्ने घोषणा उनले गरेका थिए। त्यसका लागि उनी जुम्ला पुगेका थिए। तर प्रधानमन्त्री केपी ओलीको केन्द्र सरकारदेखि कर्णाली प्रदेश सरकारसमेत आफ्ना जायज मागसहितको आन्दोलनलाई दमन गर्न लागि परेको भन्दै उनले आमनागरिक र जुम्लावासीको विशेष आग्रहलाई मनन गर्दै सत्याग्रह कार्यक्रम केही समयका लागि स्थगन गरिएको जनाएका छन्।
डा केसीले विज्ञप्तिमा कोरोना जोखिमको समय निरन्तर खटेर स्वास्थ्य सेवा दिइरहेका सरकारी र निजी क्षेत्रका सबै स्वास्थ्यकर्मीलाई नियमित सेवा–सुविधाका साथै जोखिम भत्ता दिलाउन पनि माग गरेका छन्।


























