काठमाडौं, भदौ १७ । गत वर्ष सूर्य बोहराको चलचित्र हलो जिन्दगीको लन्डनमा छायांकन गरिरहँदा घाँटीमा ट्युमर देखिएपछि मुखमा प्यारालाइसिस समेत भयो। सो ट्युमर अप्रेसनका लागि अभिनेत्री श्वेता खड्काले सो फिल्मको काम छोड्नुपरेको थियो। जसमा उनको ठाउँमा अर्को नायिकालाई लिएर छायांकन गरिएको थियो।
भारतको दिल्लीमा केही समय बसेर आफ्नो उपचार गराएकी अभिनेत्री श्वेता अहिले पूर्ण रुपमा ठीक भइसकेकी छिन्। अब भने उनी फिल्ममा आउने भएकी छिन्। उनको नयाँ चलचित्र रिलिज नभएको तीन वर्ष पुग्न लागेको छ। तीन वर्ष अघि अभिनेत्री श्वेता चलचित्र ‘कान्छी’मा देखिएकी थिइन्।
अभिनेत्री श्वेताले यतिबेला आफू नयाँ फिल्ममा अनुबन्धित भएको बताएकी छिन्। सो फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता गर्न बाँकी रहेकाले अहिले खुलाउन नमिलेको उनले बताएकी छिन्। श्वेतालाई सो फिल्मको कथा साह्रै मन परेपछि आफूले फिल्म खेल्न एग्रिमेन्ट गरेको बताएकी छिन्।
यम थापाको निर्देशनमा बन्ने नयाँ फिल्ममा श्वेताले काम गर्न लागेकी हुन्। ‘हुर्रे’, ‘मेरी मामु’ र ‘राज्जा रानी’ निर्देशन गरिसकेका यमले यो नयाँ चलचित्रमा श्वेतालाई आमाको भूमिकामा उतार्ने भएका छन्। श्वेताको छोरीकी रूपमा सेड्रिना शर्मालाई लिने भनिएको छ।
अहिले आफ्नो व्यापार व्यवसायमा व्यस्त रहेकी श्वेताले चलचित्रलाई पनि निरन्तरता दिने बताएकी छिन । दिवंगत पति श्रीकृष्ण श्रेष्ठले उनलाई फिल्म कहाँ भेटिएलाबाट नायिकाको रूपमा ल्याएका थिए। त्यसैले, आफ्नो पतिको त्यो सपना पूरा गर्न पनि श्वेताले फिल्ममा नायिकाको रूपमा निरन्तरता दिने भएकी हुन्।
नयाँ फिल्ममा अनुबन्धितबारे अभिनेत्री श्वेताले भनिन्, ‘अनुबन्धित भएको कुरा सही हो। कथा राम्रो लागेपछि काम गर्नका लागि सहमति जनाएको हुँ र अहिले त्यसको तयारीमा जुटेकी छु।’ उनले अगाडि थपिन्, ‘कोरोना महामारीपछि यही फिल्म गर्नेछु। त्यसपछि आफ्नै प्रोडक्सन हाउसबाट नयाँ फिल्म निर्माण गर्दैछु र त्यसको पनि अहिले कथामा काम हुँदैछ।


























