चितवन, भदौ १७ । विगतका वर्षमा सामूहिकरूपमा मनाइँदै आएको चेपाङको सबैभन्दा ठूलो पर्व छोनाम न्वागी यस वर्ष भने घरघरमै सीमित हुने भएको छ। कोरोना भाइरसको त्रासका कारण चेपाङ समुदायले विगतमा जस्तो सामूहिकरूपमा कुनै पनि कार्यक्रम आयोजना नगरी घरमै मनाउने भएका हुन्।
नेपाल चेपाङ सङ्घका केन्द्रीय महासचिव आइतसिङ चेपाङले कोरोना भाइरसबाट बच्नका लागि यस वर्ष केन्द्रदेखि जिल्ला, गाउँपालिका र वडास्तरमा कुनै कार्यक्रम आयोजना नगरिने बताए। उनले विधि पुर्याएर घरमै छोनाम न्वागी पर्व मनाउन सम्पूर्ण चेपाङ समुदायलाई आग्रह गरिएको बताए। उनले भने, “कोरोना भाइरसको त्रास छ, त्यसैले केन्द्रदेखि वडा तहसम्म कुनै कार्यक्रम आयोजना गरिने छैन, परम्पराअनुसार विधि पुर्याएर घरमै बसी छोनाम न्वागी मनाउन आग्रह गरिएको छ।”
नेपाल चेपाङ सङ्घ वाग्मती प्रदेशका सचिवसमेत रहेका चितवनका लक्ष्मण चेपाङले पनि प्रदेश र जिल्लामा कुनै कार्यक्रम आयोजना नगरिएको बताए। उनले केन्द्रको निर्णयानुसार घरघमै रहेर न्वागी मनाउन आग्रह गरिएको जानकारी दिए।
चेपाङ समुदायले हरेक वर्ष भदौ २२ गते धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा छोनाम न्वागी पर्व मनाउने गरेको छ। उनीहरुले नयाँ अन्न भित्रिएकाले आफ्ना पितृलाई विधिपूर्वक पूजाआजा गरी नयाँ अन्न र फलफुलहरु चढाएर मात्रै आफूले खाने चलन छ। पितृलाई नचढाई खाएमा रोगव्याधि लाग्छ भन्ने धार्मिक विश्वास रहेको पाइन्छ। सो दिन उनीहरुले कुखुराको बलिसमेत दिने गर्छन्।
महासचिव आइतसिङका अनुसार गाउँघरमा छोनाम न्वागीका दिन चेपाङ झाँक्री पान्देहरुले रातभर ढ्याङ्ग्रो ठोकेर पितृ खुसी पार्ने गर्छन्। यो दिन न्वागी फलाक्ने झाँक्रीहरुका साथै अन्य भने छोरीचेलीले ल्याएको कोसेली सगुन खाई सांस्कृतिक नाच र गीतहरु प्रस्तुत गर्ने गर्दछन्। रातभर दोहोरी गाउने केटाकेटीहरु चिनजान गर्ने र मन मिले सोही रात भगाएर विवाह गर्ने प्रचलनसमेत रहँदै आएको उनले बताए।
चेपाङ बहुल क्षेत्रमा सार्वजनिक विदाको माग
यसैबीच चेपाङ बहुल क्षेत्रमा छोनाम न्वागी पर्वको दिनमा सार्वजनिक बिदा दिन चेपाङ समुदायले माग गर्दै आएको छ। महासचिव आइतसिङले चेपाङ समुदायको बाक्लो बसोबास भएका स्थानीय तहहरुमा सार्वजनिक विदा दिनका लागि माग गर्दै आएको बताए। गत वर्ष मकवानपुरको राक्सिराङ गाउँपालिकाले मात्र सार्वजनिक बिदा दिएको उनले बताए।
चितवनमा सबैभन्दा धेरै चेपाङहरु बसोबास गर्छन् तर हालसम्म कुनै पनि स्थानीय तहले सार्वजनिक बिदा दिने गरेका छैनन्। चितवनमा मात्रै २८ हजार ९८९ चेपाङ बसोवास गर्छन्। चितवनको इच्छाकामना गाउँपालिका, राप्ती नगरपालिका र कालिका नगरपालिकामा चेपाङ समुदायको बढी बसोबास छ।
विसं २०६८ को जनगणना अनुसार इच्छाकामना गाउँपालिकाको कुुल २५ हजार १२ जनसङ्ख्यामा नौ हजार ५०० चेपाङ समुदायका छन्। सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो। सूचीकृत आदिवासीमध्ये चेपाङ अति सीमान्तकृत समुदायमा पर्छ। विसं २०६८ को जनगणना अनुसार नेपालको २६ वटा जिल्लामा बसोबास गर्दै आएका चेपाङको सङ्ख्या ६८ हजार ३९९ रहेको छ। रासस

























