चितवन, भदौ १४ । चितवन राष्ट्रिय निकुञ्जले शनिबार चित्तलको मासुसहित चार जनालाई पक्राउ गरेको छ।
निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको वटुकदल गण प्यारिधाप गुल्म र निकुञ्जको गस्ती टोलीले उनीहरुलाई राप्ती नगरपालिका–६ बाट पक्राउ गरेको हो।
निकुञ्जका अनुसार पक्राउ पर्नेमा राप्ती–६ का ३५ वर्षीया पैगी चौधरी, १९ वर्षीय साजन चौधरी, ३० वर्षीया सुमित्रा चौधरी र एक जना नाबालिग रहेका छन्।
उनीहरुलाई एकता सामुदायिक वनमा पासो थापी चित्तल मारेको आरोपमा पक्राउ गरिएको हो। घटनास्थलमा गएको प्रहरीसहितको टोलीले चित्तलको मासु र चित्तल थाप्न प्रयोग भएको पासो बरामद गरेको छ।
घटनास्थलबाट १२ किलो, पैगी चौधरीको धान खेतबाट पाँच किलो र सुमित्रा चौधरीको खेतबाट एक किलो मासु बरामद भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए। पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको उनको भनाइ छ।
अपराध प्रमाणित भएमा २० हजारदेखि ५० हजारसम्म जरिवाना र छ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ। रासस


























