चितवन, भदौ १२ । एपिवान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ को आज फाइनल प्रतियोगिता हुँदैछ। सिजन ३ अन्तर्गतको यो रियालिटी शोको फाइनल चैत्र महिनामै सकिने भए पनि कोरोना भाइरसका कारण पछाडि धकेलिएको थियो।
एपिवान टेलिभिजनबाट आज बेलुका ८ बजे लाइभ प्रसारण हुने यो रियालिटी शो मा उत्कृष्ट ३ प्रतिस्पर्धीले आफ्नो प्रस्तुति दिनेछन्।
लकडाउनका कारण रोकिएको यो कार्यक्रम केही खुकुलो हुनासाथ पुनः शुरु गरिएको थियो।
उत्कृष्ट ३ मा पर्न सफल महोत्तरीका किरण भुजेल, मोरङकी सज्जा चौलागाईं र बर्दियाका प्रवीण भेटवालबीच प्रतिस्पर्धा हुनेछ।
गतवर्ष नेपाल आइडलले एउटा छुट्टै किसिमको माहोल सिर्जना गर्ने गरेको थियो। यसपटक भने कोरोना भाइरसका कारण शोले त्यति चर्चा कमाउन सकेको छैन।
आज (शुक्रवार) हुने कार्यक्रममा थोरै दर्शक र फाइनल प्रतिस्पर्धी मात्र रहने जनाइएको छ।