सिन्धुपाल्चोक, भदौ ११ । सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ मा गएको पहिरोले ६२ घर जोखिममा परेका छन्।
निरन्तरको पहिरोले सुनकोशीका सुन्दरडाँडा, धुसेनी र पाखरदोभानका घरहरु पहिरोको जोखिममा परेका हुन्। पहिरो निरन्तर झरिरहेकाले सुन्दरडाँडा बस्ती जोखिममा परेको वडाअध्यक्ष रामकुमार थापाले जानकारी दिए।
पहिरो मुनी धुसेनी गाउँ छ भने पहिरोमाथी सुन्दरडाँडा गाँउ छ। वडाअध्यक्ष थापाका अनुसार सुन्दरडाँडाका २३, धुसेनीका ३२ र पाखरदोभानका ७ घर जोखिममा परेका छन्।
बस्ती जोखिममा परेपछि स्थानीयवासीलाई सुरक्षित हुन वडा र गाउँपालिका कार्यालयले अनुरोध गरेको छ। अहिले तत्कालका लागि स्थानीयवासीलाई १५ थान त्रिपाल उपलब्ध गराइएको छ।
गाउँका सबै घर छाडेर सुरक्षित मैदानमा गएर बसेका छन्। गाउँ नै पुरिने र बगाउने अवस्थामा रहेको बोहराले बताए। पहिरोको त्रास बढेपछि स्थानीयहरू सुरक्षित स्थानको खोजिमा घर छाड्न थालेका छन्।


























