लमजुङ, भदौ १० । कोरोना संक्रमण बढ्दै गएपछि गण्डकी प्रदेशअन्तर्गत लमजुङ बेसीसहर नगरपालिकामा निषेधाज्ञा लागू गरिएको छ।
जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबार दिउँसो ३ बजेदेखि लागू हुने गरी १७ गते साँझ ६ बजेसम्मका लागि नगरपालिकाको वडा नं. २, ३, ७ र ८ का बजार क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार स्थानीय ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन, २० दफा २ बमोजिम सो समय अवधिका लागि निषेधाज्ञा गरिएको हो।
जिल्लामा आज मात्र नेपाली सेनामा कार्यरत २० जना र बेसीसहर नपा वडा नं ७ र ८ का तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि बजार क्षेत्रमा समेत जोखिम बढेकाले एक हप्ता निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए।
जिल्लामा हालसम्म नौ महिलासहित १३९ जना कोरोना संक्रमितमध्ये नौ महिलासहित १११ जना कोरोनामुक्त भएका छन्। २८ जना कोरोना संक्रमितको विभिन्न आइसोलेसनमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए।


























