भदौ ६ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी(ट्वान्टी क्रिकेटमा आज (शनिबार) राति तेस्रो खेल खेल्दैछ।
ट्रीनिडाड एन्ड टोबेगोमा जारी सीपीएल अन्तर्गत जमैकाले तेस्रो खेलमा गुएना अमेजन वारियर्ससँग प्रतिस्पर्धा गर्नेछ। जमैका र गुएनाबीचको खेल नेपाली समय अनुसार राति १२ बजे सुरु हुनेछ।
वारियर्सविरुद्ध मैदान उत्रदा जमैका दोस्रो जितको खोजीमा हुनेछ। पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको थियो।
वारियर्स समेत दोस्रो जितको खोजीमा हुनेछ। पहिलो खेलमा ट्रिनबागोसँग ४ विकेटले पराजित भएको वारियर्स दोस्रो खेलमा सेन्ट लुसिया जोउक्सलाई ३ विकेटले हराएको थियो।
जमैका २ खेलमा २ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ। सामान खेलमा सामान अंक जोडेको वारियर्स दोस्रो स्थानमा रहेको छ।
सन्दीप गुएनाविरुद्धको खेलमा समेत प्लेईङ सेटमा पर्ने सम्भावना रहेको छ।
पहिलो खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै २३ रन खर्चिएर १ विकेट लिएका थिए।
सन्दीपले दोस्रो खेलमा ४ ओभर बलिङ गर्दै ३० रन खर्चेर १ विकेट हात पारेका थिए।
सन्दीप लगातार तेस्रो सिजन सीपीएल खेलिरहेका हुन्। यसअघिको दुई संस्करणमा समेत सन्दीपले सीपीएल खेलिसकेका छन्।
जमैकाले सन्दीपलाई यस पटक ९० हजार अमेरिकी डलर (१ करोड ८ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको थियो।
कोरोना भाईरसको महामारीको कारण यस सिजनका सबै खेल बन्द रंगशालामा भईरहेको छ।


























