भदौ ६ । स्पेनिस क्लब सेभियाले युरोपा लिग फुटबलको उपाधि जितेको छ।
जर्मनीमा शुक्रबार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेभियाले उपाधि जितेको हो।
सेभियालाई जित दिलाउन लुक डी योङले दुई गोल गरे। यस्तै डिएगो कार्लोसले थप एक गोल गरे।
इन्टरका रोमेरो लुकाकु र डिएगो गोडीनले एक एक गोल फर्काए।
कोलोग्ने स्टेडियममा सुरुवाती एक गोलको अग्रता उल्टाएर सेभिया च्याम्पियन बनेको हो।
खेलको पाँचौं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई १-० को अग्रता दिलाए।
डिएगो कार्लोसले लुकाकुलाई पेनाल्टी क्षेत्रमा लडाएपछि इन्टरले पेनाल्टी पाएको थियो। जसमा लुकाकुले सहजै गोल गरे।
यससँगै लुकाकु युरोपियन प्रतियोगिताको ६ खेलमा क्रिस्टियानो रोनाल्डोपछि लगातार गोल गर्ने दोस्रो खेलाडी बने।
तर , १२ औं मिनेटमा योङले गोल गर्दै सेभियालाई १-१ गोलको बराबरीमा फर्काए। जिसस नाभासको क्रसमा योङले हेड गोल गरेका थिए।
३३ औं मिनेटमा योङले व्यक्तिगत दोस्रो गोल गर्दै सेभियालाई २-१ को अग्रता दिलाए। यस पटक योङले इभर बनेगाको क्रसमा हेड गोल गरे।
तर, ३६ औं मिनेटमा इन्टरका गोडीनले गोल गरेपछि पहिलो हाफको खेल २-२ गोलको बराबरीमा सकिएको थियो। मार्सेलो ब्रोजोभिकको फ्रिकिक बलमा गोडीनले हेड गोल गरेका थिए।
त्यसपछि खेलको ७४ औं मिनेटमा कार्लोसले गोल गर्दै सेभियालाई ३-२ को जित दिलाए। कार्लोसको एक्रोब्याटिक प्रहार इन्टरका लुकाकुलाई लाग्दै गोलमा परिणत भएको थियो।
यससँगै सेभियाले छैटौं पटक युरोपा लिगको उपाधि जित्न सफल भएको छ। सेभिया ६ पटक युरोपा लिग जित्ने एक्लो टिम हो।
पछिल्लो पटक सेभियाले २०१६ मा युरोपा लिग जितेको थियो।
इन्टर भने चौथो पटक युरोपा लिग जित्न असफल भएको छ। इन्टरले पछिल्लो पटक १९९८ मा युरोपा लिग जितेको थियो।
तर, पछिल्लो ९ वर्ष यता इन्टरले कुनैपनि उपाधि जित्न सकेको छैन। एजेन्सी


























