भदौ ५ । यूईएफए युरोपा लिग फुटबलको उपाधि भिडन्त आज (शुक्रबार) राति हुँदैछ।
जर्मनीको कोलोग्नेमा हुने फाइनलमा भिड्दै छन्, सेभिया र इन्टर मिलान।
स्पेनिस क्लब र इटालियन क्लबबीचको उपाधि भिडन्त नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ।
रायनइनर्जीस्टाडियोनमा दुबै टिम उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रने छन्।
युरोपियन प्रतियोगितामा सेभिया र इन्टर पहिलो पटक भिड्न लागेका हुन्। त्यसैले दुई टोलिबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ।
युरोपा लिगमा सेभिया सर्वाधिक सफल टिम हो। सेभियाले पाँच पटक युरोपा लिग जितिसकेको छ।
शुक्रबार राति इन्टरलाई हराएर सेभिया अर्को उपाधि जित्न चाहन्छ। सेभियाले पछिल्लो पटक सन् २०१६ मा उपाधि जितेको थियो।
सेभियाले यस सिजनको युरोपा लिगमा उत्कृष्ट प्रदर्शन समेत गरिरहेको छ। क्वाटरफाइनलमा उल्भ्सलाई हराएको सेभियाले सेमिफाइनलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई २-१ ले हराएको थियो।
तर, सेभियाका मुख्य प्रशिक्षक जुलेन लोपेटेगुइ इन्टर ठुलो टिम भएको र अघिल्ला खेल भन्दा फरक हुने बताउँछन्।
‘बिल्कुल नयाँ र फरक टोली हो र हामी एक ठुलो टिमविरुद्ध खेल्दैछौ,’ जुलेनले भने, ‘इन्टर एक टोली हो जो च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्न सक्षम छ। इन्टरसँग उत्कृष्ट खेलाडी छन् र अनुभवी प्रशिक्षक छन्। म आशा गर्दछु कि उत्कृष्ट खेल हुनेछ। हामीले चुनौती पन्छाउन तयारी गरेका छौँ।’
एन्टोनियो कोन्टेको टिम इन्टर पनि युरोपा लिगको सर्वाधिक सफल टिम हो। इन्टरले अहिलेसम्म ३ पटक उपाधि जितिसकेको छ।
तर, इन्टर लामो समयपछि युरोपा लिगको फाइनलमा पुगेको हो। इन्टर सन् १९९९ को सिजनपछि फाइनल पुग्ने पहिलो इटालियन टिम हो। इन्टरले पछिल्लो पटक १९९८ मा उपाधि जितेको थियो।
इन्टरले पछिल्लो ९ वर्ष यता कुनैपनि उपाधि जित्न सकेको छैन। यस पटक भने सेभियालाई हराएर इन्टर लामो समयपछि उपाधि जित्ने दाउमा हुने छन्। तर, सेभियाविरुद्ध इन्टर सतर्क भएर खेल्नेछ।
‘यो कठिन खेल हुनेछ। हामी सबै भन्दा धेरै अनुभवी टिमसँग खेल्दैछौं। जसले सबै भन्दा धेरै उपाधि जितेका छन्,’ कान्टेले भने, ‘हामी सतर्क हुनुपर्दछ तर हामीले उत्साह र साहसका साथ आफ्नै खेल पनि खेल्नु पर्दछ जुन हामीले अहिलेसम्म गरेका थियौं।’
इन्टरले सेमिफाइनलमा युक्रेनी क्लब साख्तर डोनेस्कलाई ५-० ले हराएको थियो। त्यसअघि क्वाटरफाइनलमा जर्मन क्लब बायर लिवरकुसेनको चुनौती पन्छाएको थियो।
खेलाडीको उत्कृष्ट लयको कारण पनि इन्टर थप उत्साहित छ। यस सिजन क्लबका लागि ३३ गोल गरिसकेका फरवार्ड रोमेरो लुकाकु इन्टरको मुख्य हतियार हुनेछन्।
तर, चोटको कारण अर्क फरवार्ड एलेक्सिस सान्चेज भने फाइनल खेल्ने सम्भावना न्यून छ।
सेभियाका फरवार्ड लुकास ओकाम्पोसले पनि फाइनल गुमाउन सक्ने बताईएको छ। उनी चोटबाट पूर्ण फिट भईसकेका छैनन्। एजेन्सी


























