भदौ ५ । लियोनल मेस्सीले बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानलाई भेटेर आफु क्लबमा रहने बिषय अनिश्चित रहेको बताएका छन्।
प्रि–सिजन अघिको छुट्टीलाई छोट्याउँदै बिहिबार बार्सिलोना पुगेका मेस्सीले क्लबका नयाँ प्रशिक्षकसंग पहिलो पटक कुराकानी गरेका हुन्।
स्पेनिस मिडियाका अनुसार मेस्सीले क्लबका अध्यक्ष जोसफ बार्टोमेउप्रति कुनै भरोसा नभएको बताउँदै विकल्पको खोजी गरिरहेको बताए।
क्याटलान रेडियो आरएसी वानका अनुसार मेस्सीले कोम्यानसामु अध्यक्ष बर्टोमेउले आफुलाई क्लबभन्दा माथि राखेको गुनासो गरेका थिए।
मेस्सीको बहिर्गमनमा म्यान्चेष्टर सिटी तयारी अवस्थामा छ। पेप ग्वार्डीओलाले सधै मेस्सीले बार्सिलोनामै करियर अन्त्य गर्ने बताउँदै आएका थिए। तर खेलाडी बाहिर निस्कन चाहेको अवस्थामा राम्रो प्रस्ताव ३३ बर्षिया खेलाडीका अगाडी राखिने बताएको गरेका छन्।
बार्सिलोनाप्रति असन्तुष्ट रहेका मेस्सीलाई अनुबन्धन गर्न क्लबहरुले ठुलो रकम खर्च गर्नुपर्नेछ।
बार्सिलोनासंग मेस्सीको सम्झौता सकिन मात्र एक बर्षमात्र बाँकी छ। तर क्लबले उनीमाथि ६ सय ३० मिलियन पाउण्डको रिलिज क्लज राखेको छ।
‘उनी बार्सिलोनाका खेलाडी हुन्। उनीसंग अझै एक बर्ष बाँकी छ। मलाई थाहा छैन, मैले उनलाई सहमत गराउनेछु।’ कोम्यानले मुख्य प्रशिक्षकको रुपमा बार्सिलोना आएपछि भनेका थिए।
डच प्रशिक्षकले स्पष्ट रुपमा भनेका छन्, उनी त्यस्ता खेलाडी चाहन्छन्, जो क्लबमा रहन चाहन्छन्।
बर्टोमेउ अर्को सिजन क्लबको अध्यक्षमा उम्मेदवारी दिन चाहन्छन्। उनले समेत लियोनल मेस्सीले बार्सिलोनाबाटै खेल जिवन समाप्त गर्ने बताउँछन्।
बर्टोमेउ समेत क्लबका सर्वकालिन महान खेलाडी मेस्सी करियरको अन्तिम समयमा अन्य क्लबमा गएको हेर्न चाहदैनन्। एजेन्सी

























