काठमाडौं, भदौ ४ । कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि निषेधाज्ञा जारी भएपछि आज बिहीबार बिहानैदेखि काठमाडौं उपत्यका सुनसान भएको छ। उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा बजार पसलहरु खुलेका छैनन भने सर्वसाधारण पनि घरबाहिर निस्केका छैनन्।
सडकमा पानी, दुध तथा अत्यावस्यक सामग्री बोकेका गाडी र एम्बुलेन्समात्र गुडेका छन्। सवारीसाधन नगुडेपछि सडक सुनसान छ भने बजार र पसलहरु पनि बन्द भएपछि मानिसको चहलपहल शून्य छ। प्रहरीले निषेधाज्ञाको सूचना दिँदै हिँडेको छ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मंगलबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बिहीबारबाट १० भदौसम्म निषेधाज्ञा जारी गरिएको हो।
यो अवधिसम्म उपत्यका बाहिरका विभिन्न जिल्लाबाट काठमाडौं उपत्यकामा भित्रनसमेत निषेध गरिएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञाभर बिनाकाम कोही पनि घरबाट निस्कन नपाइने र निस्किएको पाइए कानुनअनुसार कारबाही अघि बढाइने बताए।


























