काठमाडौं, भदौ ४ । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ। ‘जुममा हेरेर’ बोलको गीतमा कोरोना संक्रमणका कारण एकै ठाउँमा जम्मा भएर तिज मनाउन नपाउँदाको अवस्था चित्रण गरिएको छ।
पछिल्लो समय कतिपय मिटिङ र विद्यालय शिक्षा समेत जुम एप्स मार्फत सुरु भएको प्रसंगमा सुनिताले इन्टरनेटको सहारामा जुममा भेला भएर युट्युबमा गीत प्ले गरेर रमाइलो गर्नु पर्ने यथार्थलाई गीत मार्फत प्रस्तुत गरेकी छिन्।
‘यसपाली दिदी बहिनी एकै ठाउँमा जम्मा भएर तीज मनाउने अवस्था छैन।’ सुनिताले भनिन् ‘कोरोना संक्रमणको जोखिम हुने भएकाले भीड नगर्न आग्रह पनि हो मेरो।’ समय अनुसार जीवनशैलिलाई ढाल्न सकियो भने संक्रमण मुक्त हुन सकिने उनको विश्वास छ।
सुनिताको स्वर रहेको गीतमा रोजा वलीको शब्द तथा सुनिल मास्केको संगीत रहेको छ। कुशल श्रेष्ठको छायांकन तथा निर्देशन रहेको भिडियोमा सुनितासँगै भवानी तिमलसिना, काब्य श्रेष्ठ, रस्मिता दर्लामी, आस्था जोशी, रोश्ना कार्की, रिमा कणेल, दिपिका श्रेष्ठ, स्वस्तिका लोहनी, आस्तिक कणेल, दीपक थापालगायत भिडियोमा फिचर्ड छन्।


























