काठमाडाैं । राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी गीत रेकर्ड गराएका थिए। ‘त्यसरी होओस् मरण…’ बोलको गीतमा कर्णदासकाे स्वर सुन्न सकिन्छ। स्वर्गीय घिमिरेले उक्त गी आफू बितेपछि मात्रै परिवारले सुन्न र सबै सञ्चारमाध्यमलाई उपलब्ध गराइदिन आग्रह गरेका थिए। १०१ वर्षकाे उमेरमा मंगलबार निधन भएका घिमिरेले छोरी शान्ति अधिकारीको परिकल्पना र सङ्गीतमा गीत पहिल्यै रेकर्ड गराएका थिए।
राष्ट्रकविको गीत :
‘त्यसरी होओस् मरण
जसरी सुत्छन् तारमा गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
त्यसरी होओस् मरण।।
सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन
बिहानीपख रातको, कुसुम पारिजातको
जसरी जान्छ झरेर, भुइँमा विनापवन
त्यसरी होओस् मरण।।
मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन
बादलको सेतो राशमा, दुइटा मूर्ति पासमा
जसरी शिर नुहाई, आफैंँमा हुन्छन् अर्पण
त्यसरी होओस् मरण।।
अमरापुरी सभामा आफैंँलाई गरूँ वरण
त्यसरी होओस् मरण।।


























