चितवन । भरतपुर कोभिड–१९ परीक्षण प्रयाेगशालामा गरीएकाे परीक्षणमा एकै दिन चितवनका २७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। शनिबार राति ४७४ वटा नमुना परीक्षण हुँदा चितवनका २७ र सर्लाहीका एक जना गरी २८ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन्।
संक्रमण पुष्टि भएका मध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाभित्रका छन्। महानगरपालिकाकाे वडा नम्बर ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिला गरी २१ जनामा संक्रमण पुष्टि भएकाे हाे। यस्तै रत्ननगर ५ र १२ का चारजना र खैरहनी ८ का दुईजनामा पनि काेराेना संक्रमण पुष्टि भएकाे डा अधिकारीले बताइन्। रत्ननगर र खैरहनीका संक्रमितकाे क्वारेन्टाइनबाटै नमुना गरिएका हुन् भने बाँकी संक्रमितकाे भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट गरिएको स्वाब संकलन भएका थिए।
पुरुषहरु २५ देखि ५३ वर्ष उमेर समूहका र महिलाहरु २२ देखि ३९ वर्ष उमेर समूहका छन्। यस्तै भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएका सर्लाहीकी २९ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.अधिकारीले बताइन्। चितवनकाे भरतपुर महानगरपालिका क्षेत्रभित्र काेराेना भाइरस संक्रमणकाे दर उच्च हुँदै गएपछि गत शुक्रबार राति १२ बजेदेखि भदाै ५ गतेसम्मकाे लागि महानगरपालिका क्षेत्रभित्र जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा जारी गरेकाे छ।



























