चितवन । करिब पाँच वर्षपछि लोक तथा दोहोरी गीतका सर्जक शिव सुवेदी नयाँ गीत लिएर दर्शक स्रोतासमक्ष आउँदैछन्। अध्ययनको सिलसिलामा देशबाहिर रहेका उनले पछिल्लो समय ‘दुखेको देश’ बजारमा ल्याएका थिए। देशप्रेमको भाव बोकेको उक्त गीतमा पुरूषेत्तम न्यौपाने, बद्री पंगेनी, रामजी खाँण, पशुपति शर्मा, प्रकाश सपुत, पुष्कल शर्मा, जुना श्रीषमगर, खुमन अधिकारी, शान्तिश्री परियारलगायतका कलाकारको संयुक्त आवाज थियो। गरिबको आवाज बनेर आउन लागेको नयाँ गीतमा समेत दर्जन कलाकारको आवाज समावेश गरिएको छ।
नयाँ गीत ‘अति भयो अति’मा कुलेन्द्र विश्वकर्मा, सम्झना भण्डारी, खेम सेन्चुरी, सलिना बुढाक्षेत्री, सूर्य खड्का, मञ्जु पौडेल, कमला पोखरेल, विक्रम परियार, नरेश खाती, टीका सानुलगायतका कलाकारको संयुक्त आवाज सुन्न पाइनेछ। महिलाहरुको पर्व हरितालिका तीजको पेरिफेरिमा बजारमा ल्याउने तयारीमा रहेको उक्त गीतमा शब्द÷संगीत शिव सुवेदीकै रहनेछ भने शिव सुवेदी नामक आधिकारीक युट्यूब च्यानलबाट गीत सार्वजनिक हुनेछ।
शिव सुवेदीका यसअघि ‘भुल्नै भयो धौ’, ‘घाम जस्तो चम्किलो जून हुँदैन’, ‘भूमरीमा परेँ भने म’, ‘मेरो आधा जिन्दगी’, ‘यत्ति जान्न मन छ’, ‘कल्पनामै भए नि देख्छु भनेको’लगायतका लोक तथा दोहोरी गीतले चर्चा कमाएको थियो। पछिल्लाे समय नेपाली लाेकदाेहाेरी गीत संगीतकाे क्षेत्रमा शिव सुवेदीकाे नाम अग्रपंक्तिमा आउने गर्दछ।


























