हेटाैँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्योपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मीको मनोबल गिराउने खालका क्रियाकलाप नगर्न अनुरोध गरेका छन्। कोरोना संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मी एवं नागरिकमाथि दुर्व्यवहार हुने गरेको विषयमा शनिबार सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले कोरोना महामारीसंँग जुधिरहेका बेला देशमा महामारीविरुद्धको युद्धमा अग्रमोर्चामा रहेर लडिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि बेलाबेलामा दुर्व्यवहार हुने गरेकामा दुःख व्यक्त गरेका हुन्।
‘घरबेटीले नर्सलाई कोरोना सार्न सक्ने भन्दै कोठा छोड्न दवाब दिएको, स्वास्थ्यकर्मीको सवारीसाधन रोकेर दुर्व्यवहार गरेको, विभिन्न बहानामा हातपात गरेको तथा अपशब्द प्रयोग गर्ने गरेको एवं संक्रमित चिकित्सकको मनोबल गिर्ने गरी बहिष्करण गरेका घटनाहरु बाहिरिरहेका छन्,’ जारी सन्देशमा भनिएकाे छ, ‘स्वास्थ्योपचारमा अहोरात्र खटिने आम स्वास्थ्यकर्मीको मनोबल गिराउनुका साथै संक्रमित नागरिकको मनोविज्ञानमा गम्भीर असर पर्न सक्नेतर्फ अलिकति पनि नसोची विवेकशून्य भएर गरिएका त्यस्ता क्रियाकलापको जति निन्दा गरे पनि कम हुन्छ।’
यस्ता क्रियाकलापमा संलग्न व्यक्तिहरु कार्वाहीका भागीदार हुनुपर्ने मुख्यमन्त्रीले पाैडेलले बताए। संक्रमितलाई दुर्व्यहार नगरी माया, प्रेम र सद्भाव व्यक्त गरी हौसला प्रदान गर्न पनि मुख्यमन्त्री पाैडेलले आमनागरिकसमक्ष अनुरोध गरेका छन्। पछिल्लाे समय वागमती प्रदेशकाे चितवनका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा काेराेना संक्रमण भएपछि घरबेटीले निकालेकादेखि डाक्टरका घरमा ‘याे काेराेना संक्रमितकाे घर हाे’ भनेर लेखिएका ब्यानर टास्न गएका घटना सार्वजनिक भएकाे थियाे। – रासस


























