बागलुङ, साउन ३१ जिल्लामा पहिलो पटक जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार क्षयरोग उपचार केन्द्रको प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा जिल्ला समन्वय बागलुङका एक जनप्रनिधि र बडिगाड गाउँपालिकाका एक जनप्रतिधिमा कोरोना संक्रमण पुष्टि भएको हो।
दुबै जना ५४ र ३८ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए। उनीहरु मध्ये ५४ वर्षीय जनप्रतिनिधि केही दिन पहिले चितवन गएर फर्किएको र चितवनमा संक्रमण भएका व्यक्तिसँगको कन्ट्रयाक ट्रेसिङको आधारमा परीक्षण गर्दा संक्रमण भेटिएको हो।
त्यसैगरी बडिगाड गाउँपालिकाका जनप्रतिनिधि गाउँपालिकाले संचालन गरेको क्वारेन्टाइन व्यवस्थापनमा खटिएको जानकारीमा आएको स्वास्थ्य कार्यालयका प्रमुख गुरौले बताए।
जिल्ला समन्वयका जनप्रनिधि चितवनबाट फर्किएसँगै होम क्वारेन्टाइनमा रहेको र बडिगाडका जनप्रतिनिधि पनि क्वारेन्टाइनमै रहेको कार्यालयले जनाएको छ।

























