चितवन । लामाे समयसम्मकाे लकडाउनपछि खुलेकाे चितवनमा शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा लागू भएकाे छ। हाललाई भदाै ५ गतेसम्मकाे लागि भरतपुर महानगरपालिकाभित्र निशेधाज्ञा जारी गरिएकाे चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम महानगरपालिकाको सम्पूर्ण क्षेत्रभित्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको उनले बताए। कसैले निषेधाज्ञाकाे अवज्ञा गरेकाे पाइएमा प्रचलित कानूनअनुसार कडा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए। कोरोनाको सङ्क्रमणकाे जाेखिम उच्च हुँदै गएपछि महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।
निषेधाज्ञा अवधिभर के गर्न हुने र के गर्न नहुने ?
प्रशासनले निषेधाज्ञा जारी गरे पनि सर्वसाधारणकाे दैनिकीलाई सहज बनाउन निश्चित समय खुला गर्ने जनाएकाे छ। निशेधाज्ञा अवधिमा बिहान ५ देखि ८ बजेसम्म र साँझ पनि ५ देखि ८ बजेसम्मकाे समयमा अत्यावश्यक वस्तु खरिद गर्न पाउने जनाएकाे छ। प्रशासनले ताेकेकाे समयभन्दा अगाडि वा पछाडि भने कुनै पनि व्यक्ति घरबाहिर निस्कन र हिँडडुल गर्न नपाइने जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेकाे सूचनामा उल्लेख छ।
त्यस्तै, लामो दुरीका मालबहाक ढुवानीका सवारी साधन, दमकल, एम्बुलेन्स, शव वाहन, तरकारी, फलफूल तथा दूध ढुवानी तथा दान, खानेपानी, इन्धनलगायत अत्यावश्यकीय सामान बाेक्नका लागि प्रयाेग भएका सवारीसाधन, तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त निजी तथा सार्वजनिक सवारी साधन भने चल्न दिइने छ।
याे समयावधिभर आधारभूत खाद्य सामग्री पसल, पेट्रोल पम्प, ग्यास डिपो र औषधि पसलबाहेक सम्पूर्ण व्यापार व्यवसाय बन्द हुनेछन्। स्वास्थ्य संस्था, अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालयबाहेक अन्य सरकारी तथा गैर सरकारी संघसंस्था, बैंक तथा वित्तीय संस्था एवम् सहकारीबाट दिइने सबै सेवा बन्द हुनेछन् भने धार्मिक, सांस्कृतिक र सामाजिक (विवाह र ब्रतबन्ध) लगायतका भेला, जमघट हुने कार्यसमेत सञ्चालन गर्न पाइने छैन।


























