सिन्धुपाल्चोक, साउन ३० । जुगल गाउँपालिका–२ गोल्चे, लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा गम्भीर घाइते भएका पाँच जनालाई अस्पताल लगिएको छ। सेनाको टोलीले हेलिकप्टरबाट उनीहरूको उद्धार गरेको हो।
घाइतेहरूलाई चौतारास्थित जिल्ला अस्पताल ल्याएर उपचार गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। जिल्ला समन्वय समितिको अगुवाइमा उद्धारका लागि हेलिकप्टर पठाइएको उनले जानकारी दिए। ‘पहिरो अझै झरिरहेकाले सुरक्षाकर्मी घटनास्थल पुग्न सकेका छैनन्, यकिन तंथ्याक र क्षति विवरण आइसकेको छैन,’ उनले भने।
पहिरोबाट निकालिएका गम्भीर घाइते ५ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए। ‘पहिरोबाट १५ जना बाहिर निस्केकामा उनीहरूलाई सुरक्षित स्थानमा राखिएको छ, घाइतेको उद्धार कार्य गरिँदै छ,’ उनले भने। सुरक्षाकर्मी नपुगेकाले स्थानीय र जनप्रतिनिधि मिलेर खोजी र उद्धार कार्यमा जुटेको श्रेष्ठको भनाइ छ। उनका अनुसार १३ घर पुरिएकोमा पाँच घरका स्थानीय सम्पर्कविहीन छन्।
उनले भने पहिरोमा ३५ जना हराइरहेको जनाएका छन्।


























