सिन्धुपाल्चोक, साउन ३० । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा कम्तिमा पनि ३५ घर पुरिएको प्रारम्भिक जानकारी आएको छ।
पहिरोमा पुरिएर कतिको मृत्यु भयो, यकिन तथ्यांक अझै आइसकेको छैन।
हाल घटनास्थलमै रहेका नेकपा सिन्धुपाल्चोकका अध्यक्ष माधव सापकोटाले भने, ‘पहिरोमा ठूलो जनधनको क्षति भएको छ। मृतकको संख्या यकिन भइसकेको छैन। एउटै घरमा चार पाँच जनासम्म थिए भनेर स्थानीयले बताएका छन्। पहिरोले च्यापिएको अवस्थामा २/३ वटा शव हामीले देखेका छौँ।’
घटनास्थलमा अहिले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासहितको टोली पुगेको छ।
‘नेपाली सेना र प्रहरी उद्धारमा जुटेका छन्। हामी बेपत्ताको यकिन विवरण संकलन गर्दैछौँ,’ सापकोटाले भने, ‘यहाँ धेरै हताहत भएको अनुमान गर्न सकिन्छ। हामीले पाँच जना घाइतेलाई उद्धार गरेर उपचारमा पठाएका छौँ।’
जुगल गाउँपालिका २ लिदिमा शुक्रबार बिहान करिब साढे ६ बजे पहिरो गएको हो। पहिरो गएपछि १५ जना भन्दा धेरैले भागेर ज्यान जोगाएका छन्।


























