चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले अबदेखि फुटपाथ वा खुला ठाउँ तथा साइकल, ठेलागाडा र अटो रिक्सा जस्ता हरेक ठाउँ डुल्ने गरी व्यापार गर्न नपाइने जनाएको छ। बिहीबार सूचना जारी गर्दै प्रशासन कार्यालयले साइकलमा कवाडी संकलनसमेत नगर्न निर्देशन दिएको हो। होटल तथा रेष्टुरेन्टलाई पनि आफ्ना होटछ तथा रेष्टुरेन्टमा बसेर खाना तथा खाजा खुवाउन नपाइने सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए। ‘टेकअवे’का लागि मात्रै होटल तथा रेष्टुरेन्ट खोल्न पाइने उनले बताए।
छोटो, मध्यम तथा लामो दुरीका यात्रु बाहेक सवारीसाधन, वैकल्पिक शिक्षण सिकाई बाहेकका शैक्षिक संस्था, विद्यार्थी भर्ना र अन्य परीक्षा भदौ १५ सम्म सञ्चालन नगर्न पनि प्रशासनले आग्रह गरेको छ। यस्तै अत्यावश्यक बाहेकका कुनै पनि बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल र भेलाजस्ता सामुहिक जमघट हुने खालका कार्यक्रम नगर्न तथा नगराउन पनि प्रशासनले आग्रह गरेको छ।
धार्मिक स्थलहरूमा नित्य पूजाबाहेक कुनै पनि गतिविधि सञ्चालन गर्न नपाइने, चाडपर्व मनाउँदा परिवारको सदस्यमात्र घरभित्र रही जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरेर मात्रै मनाउने, अत्यावश्यक सेवा तथा सामग्री आपूर्ति कार्यमा संलग्न चालक, सहचालक तथा अन्य व्यक्तिलाई अनिवार्यरूपमा स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गराउने कार्य सम्बन्धित व्यवसायी, उद्योगी तथा सामाजिक संघसंस्थाले नै अनिवार्य गराउने, सिनेमाहल, पार्टी प्यालेस, डान्सबार, सैलुन, ब्युटिपार्लर, जिमखाना तथा स्वीमिङ पुल आदि तत्काल सञ्चालन नगर्न पनि प्रशासनले आग्रह गरेको छ।
उद्योग कलकारखाना सञ्चालन गर्ने व्यवसायीले सरकारले जारी गरेको स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी उद्योग परिसरभित्रै निश्चित स्थानमा क्वारेन्टाइन निर्माण गरी बाहिर आवतजावत गर्न नदिने व्यवस्था मिलाउने र बाहिरी जिल्लाबाट कुनै पनि कामदार नल्याउन पनि प्रशासनले आग्रह गरेको छ।

























