साउन २९ । अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन तथा उनले उपराष्ट्रपति उम्मेदवारका रुपमा चुनेकी सिनेटर कमला ह्यारिसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निशाना बनाएका छन्।
ट्रम्प असक्षम नेता रहेको र उनले अमेरिकालाई ‘धुजाधुजा’ पारेको उनीहरुले आरोप लगाएका छन्।
बाइडेनले आफ्नो रनिङ्ग मेटका रुपमा ह्यारिसको नाम घोषणा गरेको भोलिपल्ट बुधबार दुईजनासँगै चुनावी अभियानमा सामेल भएका हुन्।
राष्ट्रपति ट्रम्पले ह्यारिसको आक्रमणको प्रतिउत्तर दिँदै उनी आफू राष्ट्रपति उम्मेदवार बन्ने होडबाट ढुंगा जसरी तल खसेको बताए।
पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले आउँदो नोभेम्बर ३ मा हुने चुनावमा रिपब्लिकन राष्ट्रपति ट्रम्पको सामना गर्ने छन्।
डेलवरको विल्मिङ्गटनमा भएको चुनावीसभा (कोरोना भाइरसको महामारीका कारण सर्वसाधारणका लागि खुला नगरिएको) मा दुवै उम्मेदवार मास्क लगाएर स्टेजमा आएका थिए। उनीहरुले सामाजिक दूरी कायम गरेर उपस्थित भएका पत्रकारहरुलाई सम्बोधन गरे।
समाचार संस्था रोयटर्सका अनुसार हल्का पानी परेको कार्यक्रम स्थलको बाहिर झण्डै ७५ जना उपस्थित भएको र त्यसमध्ये केही बाइडेनका आलोचक थिए।
बाइडेनले सम्बोधनको क्रममा क्यालिफोर्नियाकी सिनेटर ह्यारिस अमेरिकाको प्रमुख पार्टीका तर्फबाट राष्ट्रपति चुनावमा रनिङ्ग मेटका रुपमा प्रस्तुत हुने पहिलो अश्वेत महिला रहेको बताए।
बाइडेनले भने, ‘आउँदो नोभेम्बरमा हामीले गर्ने छनौटले अमेरिकाको भविष्य धेरै लामो समयसम्मका लागि निर्धारण गर्ने छ। डोनाल्ड ट्रम्पले कमला ह्यारिसमाथि आक्रमण गर्न थालिसके। विभिन्न असभ्य नामहरु दिन थालेका छन्। यो कुराले आश्चर्यमा पारेको छैन किनकी गुनासो नै त्यो चिज हो, जसमा ट्रम्प उत्कृष्ट छन्। अमेरिकाको इतिहासमा गुनासोमा सबैभन्दा पोख्त भएका राष्ट्रपति हुन् ट्रम्प।’
बाइडेनले भने, ‘के कसैलाई आश्चर्य लाग्यो र कि ट्रम्पलाई शक्तिशाली महिलासँग समस्या देख्दा ?’
बाइडेनले कोरोना भाइरस महामारी नियन्त्रणका लागि ट्रम्पले गरेको कमजोर प्रयासको पनि आलोचना गरे।
बाइडेनपछि पोडियममा आएकी ह्यारिसले आफू काम गर्नका लागि तयार रहेको बताइन्।
५५ वर्षकी ह्यारिसले पत्रकारलाई भनिन्, ‘अमेरिकाका लागि वास्तविक रुपमा प्रभाव पार्ने समय हो यो। हामीलाई चासो भएका सबै कुराहरु–हाम्रो अर्थतन्त्र, हाम्रो स्वास्थ्य, हाम्रा बालबालिका, कस्तो देशमा हामी रहन चाहन्छौँ भन्ने सबै कुरा लाइनमा छन्।’
उनले भनिन्, ‘बाराक ओबामा र जो बाइडेनले तयार पारेको अर्थतन्त्रको बलियो आधारमा ट्रम्पले शासन सुर गरे। तर अहिले अवस्था स्पष्ट छ। राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न योग्न नै नरहेको व्यक्तिलाई निर्वाचित गर्दाको परिणाम हो यो। एजेन्सी


























