बैंग्लोर, साउन २८ । भारत बैंग्लोरको पूर्वी क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर दुईजनाको ज्यान गएको छ। भिडले दुईवटा प्रहरी चौकी तथा एक कांग्रेस विधायकको घरमा आक्रमण गरेको थियो। त्यसपछि प्रहरीले गोली चलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सामाजिक सञ्जालमा गरिएको एक पोस्टको विरोधमा प्रदर्शन गर्दै आक्रोशितहरुको भिड प्रहरी चौकी पुगेको थियो।
बैंग्लोरको डीगे हल्ली र केजी हल्ली क्षेत्रमा कर्फ्यू जारी गरिएको बैंग्लोरका प्रहरी अधिकारी कमल पन्तले बताएका छन्। अहिलेसम्म प्रहरीले ११० जनालाई पक्राउ गरेको स्थानीय प्रहरीलाई उद्धृत गरी समाचार संस्था एएनआईले जनाएको छ।
पुलिकेशिनगरका कांग्रेस विधायक अखण्ड श्रीनिवास मूर्ति एक आफन्तले सामाजिक सञ्जालमा धार्मिक भावनामा ठेस पुग्ने आपत्तिजनक पोस्ट गरेको र त्यसको विरोधमा मंगलबार बेलुका ठूलो संख्यामा मानिसहरु भेला भएको जनाइएको छ।
उनीहरुले सामाजिक सञ्जालमा पोस्ट गर्ने व्यक्ति विरुद्ध कारवाहीको माग गरेका छन्। सामाजिक सञ्जालमा पोस्ट गर्ने व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्ने व्यक्तिको नाम नविन रहेको र उनी कांग्रेस विधायकका भतिज रहेको प्रहरीले उल्लेख गरेको छ।
कुनै विकल्प नभएपछि भिड नियन्त्रणका लागि गोली चलाएको प्रहरीको दाबी छ। कर्नाटकका गृह मन्त्री बसवराज बोम्मईले प्रहरीको गोली लागेर दुईजनाको ज्यान गएको पुष्टि गरेका छन्। यस्तै कांग्रेस विधायकले भिडियो सन्देश जारी गरेर मुसलमानसँग शान्ती कायम गर्न अपिल गरेका छन्। एजेन्सी


























