मुम्बई, साउन २८ । बलिउड नायक संजय दत्तलाई भएको फोक्सोको क्यान्सर अहिले तेस्रो चरणमा पुगेको छ।
केही दिन अगाडि श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए। कोरोनाको आशंका गरिएका उनमा कोरोना रिपोर्ट पनि नेगिटिभ आएको थियो।
फोक्सो क्यान्सरको तेस्रो चरणमा रहेकाले अब उनको उपचार अमेरिकामा हुनेछ।
भारतीय मिडियाका अनुसार, क्यान्सरको खबरले संजय स्तब्ध बनेका छन्। उनले तेस्रो स्टेजको क्यान्सरको उपचारका लागि केही समय अस्पतालमा बिताउनुपर्नेछ। उनी, आफू निको हुनेमा आशावादी छन्।
उनको रिपोर्ट मंगलबार मात्र आएको हो। संजयको यो रिपोर्ट सार्वजनिक भएपछि सलमान खान, अमिताभ बच्चन, अभिषेक बच्चन लगायतका नायकले फोन गरेका थिए तर उनले फोन नउठाएको भारतीय मिडियामा उल्लेख छ।
यो बर्ष बलिउडमा नायक ऋषि कपुर र इरफान खानको निधन क्यान्सर रोगकै कारण भएको थियो।
संजयले मंगलबार दिउँसो सामाजिक संजालमा ट्विट गर्दै आफूले केही समयका लागि कामबाट ब्रेक लिन लागेको जानकारी दिएका थिए। उनले, आफ्नो साथमा आफ्नो परिवार रहेको भन्दै कुनै पनि खालको अड्कलवाजी नगर्न पनि फ्यानहरुसँग आग्रह गरेका थिए। एजेन्सी


























