साउन २७ । बेरुतमा भएको शक्तिशाली बिस्फोटपछि उत्कर्षमा पुगेको सर्वसाधारणको आक्रोशपछि लेबनानको सरकार ढलेको छ।
मन्त्रीपरिषदका सबैले राजीनामा दिएका छन्। प्रधानमन्त्री हसन डिएबले सोमबार बेलुका सरकार भंग गरेको अर्थात राजीनामा दिएको घोषणा गरेका हुन्। उनले यो घोषणा टेलिभिजन सम्बोधन मार्फत गरेका हुन्।
सर्वसाधारणले नेताहरुको बेवास्ता र भ्रष्टाचारका कारण देशको अवस्था खराब बनेको तथा सोही कारण बिस्फोट पनि भएको आरोप लगाएका छन्।
गएको मंगलबार राति बेरुतको तटीय क्षेत्रमा भण्डारण गरी राखिएको बिस्फोटक पदार्थ बिस्फोट भएपछि सर्वसाधारणको आक्रोश उत्कर्षमा पुगेको हो। उनीहरुले त्यसपछि लगातार प्रदर्शन गर्दै आएका छन्।
विगत ६ वर्षदेखि गोदाममा असुरक्षित रुपमा भण्डारण गरिएको २७ सय ५० टन एमोनियम नाइट्राइट गएको मंगलबार राति बिस्फोट भएको थियो।
त्यसमा परी अहिलेसम्म कम्तीमा २२० जनाको ज्यान गइसकेको छ। ११० जना अझै बेपत्ता छन्। ६ हजार मानिस घाइते भएका छन्।
राजीनामा दिएको सरकारलाई अर्को मन्त्री परिषद गठन नहुँदासम्म कार्यवाहकको भूमिका निर्वाह गर्न राष्ट्रपति मिशेल एउनले आग्रह गरेका छन्। एजेन्सी


























