काठमाडौं, साउन २७ । लकडाउन र उच्च मूल्यका कारण सुनको कारोबार ठप्पजस्तै रहेका बेला पछिल्ला केही दिनमा सामान्य वृद्धि भएको व्यवसायीहरूले बताएका छन्। महिलाको चाड तीज नजिकिँदै गएपछि सुनको कारोबारमा सामान्य वृद्धि भएको हो।
विगतका वर्षमा यतिबेला सुनको सिजन हुने गरे पनि कारोनाको कहर तथा उच्च मूल्यका कारण कारोबारमा मन्दी आएको थियो। कारोबारमा मन्दी आएकै कारण बैंकहरूले नयाँ सुन मगाउन छोडेका थिए। व्यवसायीहरू पनि पुरानो सुनबाट काम चलाउँदै आएका थिए। ग्राहकले बिक्री गर्न ल्याएका पुराना गहनाबाट आवश्यकता पूर्ति हँुदै आएको अहिले थोरै काँचो सुन किन्नु परेको व्यवसायीहरूले बताए। पछिल्लो दुई सातायतादेखि सुनको कारोबारमा सामान्य सुधार देखिन्छ। बैंकरहरूका अनुसार अहिले व्यवसायीहरूले दैनिक २÷३ किलो काँचो सुन खरिद गर्ने गरेका छन्। विगतका वर्षमा यतिबेला दैनिक ३० किलोभन्दा बढी सुनको आवश्यकता पथ्र्यो। विगतको जस्तो कारोबार नभए पनि शून्य रहेको व्यवसायमा थोरै भिल्को देखा परेको छ। एक व्यवसायीले नेपाल समाचारपत्रसँग बताए।
यसैबीच तोलाको लाख रुपियाँभन्दा बढी पुगेको सुनको मूल्यमा सामान्य गिरावट आउन थालेको छ। सोमबार छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपियाँले घटे प्रतितोला एक लाख दुई हजार ४ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ९ सय रुपियाँमा कारोबार भएको छ। यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ रुपियाँले घटेर एक हजार ३९५ रुपियाँमा कारोबार भएको छ।


























