जनकपुरधाम, साउन २६ । जनकपुरधाममा आइतबार मृत्यु भएका दुईजना मध्ये एकको कोरोना रिपोर्ट पोजेटिभ आएको छ। विनय तारा फाउन्डेशन क्यान्सर अस्पतालमा मृत्यु भएको सोहि अस्पतालका सुरक्षा गार्ड समेत रहेका धनुषा मिथिला विहारीका ४७ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।
रुघाखोकी र झाडापाखालासंगै ज्वरो समेत आउने गरेको उनी गाउँमै औषधी खाइरहेको अवस्थामा आइतबार बिहान अचानक स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल पुरयाउने बित्तिकै उनको मृत्यु भएको थियो। उनको आइतबारनै दाहसंस्कार गरिसकिएको छ।
त्यसैगरी काब्या हस्पिटलमा मृत्यु भएको शहिदनगर नगरपालिकाका पुरुषको भने रिपोर्ट नेगेटिभ आएको छ। उनी मुटु र दमका रोगी थिए। काब्या अस्पतालले पनि उनमा कोरोनाको कुनै लक्ष्ण नरहेको दाबी गर्दै आएको थियो। उनको पनि परिवारजनको जिम्मा लगाएर दाहसंस्कार भइसकेको छ। दुवै मृतकको रिपोर्ट आएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईले समेत पुष्टि गरेको छ।


























