साउन २६ । युरोपा लिग फुटबलको क्वाटरफाइनलमा आज (सोमबार) इन्टर मिलानले बायर लेवरकुसनसँग प्रतिस्पर्धा गर्दैछ।
जर्मनीको डुसेलड्रोफमा इटालियन क्लब इन्टरले जर्मन क्लब लेवरकुसनसँग खेल्न लागेको हो। दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ।
मेर्कुर एरिनामा दुवै टिम जित निकाल्दै अन्तिम चारमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन्। त्यसैले दुई टिमबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।
जर्मन क्लबको तुलनामा इन्टरले यस सिजन उत्कृष्ट खेलिरहेको छ। सिरी ‘ए’ लिगमा दोस्रो स्थानमा रहेको इन्टर उत्कृष्ट लयलाई कायम गर्ने लक्ष्यमा हुनेछ।
हालै इन्टरले म्यानचेस्टर युनाइटेडका फरवार्ड एलेक्सिस सान्चेजलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको छ।
सान्चेजसँगै रोमेरो लुकाकुले इन्टरका लागि उत्कृष्ट खेलिरहेका छन्। दुई फरवार्डलाई रोक्न लेवरकुसनका डिफेन्डरलाई निकै कठिन हुनेछ।
यता, लेवरकुसन पनि इन्टरलाई स्तब्ध बनाएर सेमिफाइनलमा पुग्न चाहन्छ।
बुन्डेसलिगामा यस सिजन उत्कृष्ट खेलेको लेवरकुसनलाई काइ हाभर्ट्जको भूमिका महत्वपूर्ण हुनेछ।
ट्रान्सफर विन्डोमा सर्वाधिक चर्चामा रहेका विंगरसँग इन्टरको डिफेन्स लाइन चिर्न सक्ने क्षमता रहेको छ।
जर्मन विंगर हाभर्ट्ज पछिल्लो समय चेल्सीसँग जोडिएका छन्।
इन्टरले अन्तिम १६ को खेलमा स्पेनिस क्लब गेटाफेलाई २-० गोल अन्तरले पराजित गरेको थियो।
लेवरकुसनले रेन्जर्सलाई समग्रमा ४-१ ले हराएको थियो। एजे्न्सी


























