बाजुरा, साउन २६ । केही दिन यता परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा क्षति पुर्याएको छ।
मौसमविदले नेपालमा फेरि मनसुन सक्रिय भएको र विभिन्न प्रदेशमा भारी बर्षा हुनसक्ने बताइरहेका बेला बाजुरामा बुढीगंगा नदीमा आएको बाढीले बेलिब्रिज र झोलुङ्गे पुल बगाएको छ।
बाढीले बेलिबिज्र र झोलुङ्गे पुल बगाएपछि स्थानीयलाई आवतजावतमा कठिनाइ भएको छ।
बाढीले साफे–मार्तडी सडक पर्ने जडाङ्गाको बेलिब्रिज बगाएको हो। बुढीगंगा नदीको बाढीले बाजुराका विभिन्न बस्ती जोखिममा परेका छन्।
बाढीले घागर, भौनेरा, रापकलगायत तटीय क्षेत्रका बस्तीमा क्षति पुगेको प्रहरीले जनाएको छ।
उद्धारका लागि प्रहरी टोली जान सकेको छैन। गएराति जिल्लाबाट खटिएको टोली बडिमालिका नगरपालिका–९ को पहिरोका कारण रोकिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
यसअघि गुइगाड खोलामा आएको बाढीसँगैको पहिरोले बुढीगंगा नदी थुनिँदा नदी किनाराका बस्ती जोखिममा परेका थिए ।


























