साउन २६ । ब्राजिली स्टार विलियनले बिदाई पत्र लेख्दै चेल्सी छाड्ने निर्णय लिएका छन्।
लण्डनमा झण्डै ७ बर्ष बिताएका विलियनले स्टामफोर्ड ब्रिज क्लब चेल्सी छाड्ने पक्का गरेका हुन्।
३२ बर्षका फरवार्डको चेल्सीसंगको सम्झौता सकिएको थियो। क्लबले उनलाई दुई बर्षको सम्झौता नविकरणको प्रस्ताव अघि सारेको थियो। तर उनले लण्डन क्लबसंग तीन बर्षको सम्झौता माग गरेका थिए।
विलियन पछिल्लो समय अर्को लण्डन क्लब आर्सनलसंग जोडिएका छन्। उनी १ लाख पाउण्ड साप्ताहिक तलब पाउने शर्तमा आर्सनलमा जाने बताईएको छ।
विलियनले क्लब र समर्थकलाई लामो पत्र लेख्दै अर्को सिजन चेल्सीबाट नखेल्ने बताएका हुन्। उनले ईन्स्टाग्राममा मार्फत क्लब तथा खेलाडीलाई बिदाई पत्र लेखेका छन्।
उनले आफ्नो ७ बर्षको करियरमा सहयोग गर्ने चेल्सी समर्थकलाई धन्यवाद दिएका छन्। उनले आफु अघि बढ्ने समय आएको भन्दै टिमका सहकर्मीसंग बिदा मागेका छन्।
चेल्सीले पछिल्लो समय उनलाई दुई बर्षको सम्झौता लिन वा क्लब छाड्न अनुरोध गरेको थियो। आर्सनलले साप्ताहिक १ लाख डलर तलबमा विलियनलाई तीन बर्षको अनुबन्धनको प्रस्ताव अघि सारेको छ। उसले चार बर्षको विकल्पमा समेत खुल्ला रहने गरि तीन बर्षको प्रस्ताव अघि सारेको हो।
चेल्सी प्रशिक्षक फ्राङ्क लाम्पार्डले विलियनले चेल्सी छाडेमा आफु दुखी हुने बताएका थिए।
विलियन सन् २०१३ मा शख्तर डोनेस्कबाट लण्डन क्लबमा ३० मिलियन पाउण्डमा आएका थिए। चेल्सीमा ७ बर्ष बिताउँदै उनले ६३ गोल गरे भने ६२ गोलको अवसर सिर्जना गरे।
उनले सबै प्रतियोगितामा ३ सय ३९ खेलमा सहभागीता जनाए। उनले क्लबबाट एफ ए कप, ईपीएल कप र युरोपा लिग सहित दुई पटक प्रिमियर लिगको उपाधि जिते। एजेन्सी


























