पोखरा, साउन २५ । नेपालमा लायनवाद भित्रिएको आज ५० औं बर्ष पुगेको छ।
“हामी सेवा गर्छौ” भन्ने नारासंगै सामाजिक सेवा, नेतृत्व विकास र भातृत्व विकास गर्दै समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आईरहेको विश्वकै ठूलो एक मात्र सामाजिक संस्था लायन्स क्लब अन्तरराष्ट्रिय नेपालमा स्थापना भएको आज ४९ औ बर्ष पुरा गरी ५० औ बर्ष प्रबेस गरेको छ।
पूर्व प्रधानमन्त्री स्व. मातृकाप्रसाद कोईरालाको नेतृत्वमा सन १९७१ अग़स्ट ९ मा नेपालमा पहिलो पटक विराटनगरमा लायन्स क्लब अफ विराटनगरको स्थापना गरी नेपालमा लायनवाद भित्रिएको हो।
लायन्स क्लब अफ विराटनगरको स्थापनासंगै नेपालमा लायनवाद भित्रिएको अवसरपारी लायन्स मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालले जुम प्रविधि मार्फ़त भर्चुअल रूपमा आईतवार भव्य कार्यक्रमको आयोजना गरी स्वर्ण महोत्सवको उद्घाटन गरेको छ।
लायन्स अन्तरराष्ट्रियका पूर्व अध्यक्ष नरेश अग्रवालले जुम प्रविधि मार्फ़त स्वर्ण महोत्सव समारोहको उद्घाटन गरेका थिए।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि अग्रवालले नेपालमा लायनवाद सबैभन्दा द्रुतगतिमा बृद्धि भएको देश रहेको बताउदै भूकम्प पछि नेपालका लायन्सहरूले गरेका मानविय सेवाका कार्यहरूले विश्वका लायन्सहरूले गर्व गरेको बताए। उनले आफु नेपाल धेरै पटक भ्रमण गरेको र प्रायः सबै साथीहरूबाट नेपालमा लायनवादको प्रगति बारेमा सुन्दा गर्व महशुष गरेको समेत बताए। “नेपालको लायनवाद सुरुवातको स्वर्ण जयन्ती उद्घाटन गर्ने अवसर प्राप्त भयो, आउनेदिन अझै सुखद रहोस” उनको भनाई रहेको थियो।
लायन्स अन्तरराष्ट्रियका भाईस प्रेसिडेन्ट डा.पत्ती हिलले नेपालको लायनवाद अझै उचाईमा पुग्ने विश्वास व्यक्त गरे।
पूर्व अन्तरराष्ट्रिय ड़ाईरेक्टर संजय खेतानले नेपालका लायन्स क्लबले नेपालमा सबैको मन जित्न सफल भएको बताए। उनले नेपालमा लायन्स क्लब मार्फत शिक्षा, स्वास्थ्यको क्षेत्रमा धेरै काम भई रहेको बताउदै नेपालको सामुदायिक बिकास गर्न धेरै सहयोगकोआवश्यकता रहेको बताए।
लायन्स क्लब अन्तरराष्ट्रिय मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालका मल्टीपल काउन्सिल चेयरपर्सन इन्द्र खत्री (राजन) को अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा स्थापनाकालदेख़ि हालसम्म नेपालमा लायनवादको विकासमा उल्लेख्य योगदान पुर्रयाउनु हुने लायन्स अग्रज लिडरहरूलाई सम्मान ग़रिएको छ। सम्मानित हुनुहुनेमा नेपाल कै पहिलो क्लब लायन्स क्लब अफ विराटनगरका संस्थापक मध्येका जिवित रहनु भएका दुईजना संस्थापक सदस्यहरू किशनलाल दुगड र मुलचन्द्र राठी, लायन्सको ५० औ बर्षको लोगो डिजाईन गर्नुहुने डा.संजयदास श्रेष्ठ रहेकाछन्।
त्यसै गरी सम्मानित हुनुहुनेमा पूर्व डिष्ट्रिक्ट गभर्नरहरू पिसी अग्रवाल, आर पी खेतान, ठाकुर हिरा सिंह, राजकुमार सिन्धी, गौतममान श्रेष्ठ, हरिशंकर निरौला, डा अन्जनीकुमार शर्मा, एमडी अग्रवाल र पंकज प्रधान रहेकाछन्। कोभिड-१९ का कारण सम्मानपत्र प्रदान गर्न नसकिएको हुदा सहज परिस्थितिमा घर घरमा पुर्र्याउने खत्रीले जानकारी दिए।
मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालको आयोजना र मल्टीपल अन्तरगतका चारवटै डिष्ट्रिक्टको समन्वयमा आयोजित उद्घाटन समारोहमा एलसिआईएफ एरिया लिडर बालकृष्ण बुर्लाकोटी, जीएलटी एरिया लिडर खगेन्द्र सिटौला, सम्मानित अग्रज लायन लिडरहरू पूर्व डिष्ट्रिक्ट गभर्नरहरू फ़ुलकुमार लालवाणी, आरपी खेतान, पंकज प्रधान, लायन्स क्लब विराटनगरका संस्थापक सदस्यहरू किशनलाल दुगड र मुलचन्द्र राठी र क्लबका स्वर्ण महोत्सव समारोहका संयोजक घनश्याम काब्रा लगायतले नेपालको लायनवादका बारेमा चर्चा गरेका थिए।
सभापतिको आसनबाट बोल्दै मल्टीपल काउन्सिल चेयरपर्सन इन्द्र खत्री (राजन) ले अग्रजहरूले स्थापना गरेको संस्थाले हाम्रो जिवनमा आफनै कार्यकालमा स्वर्ण जयन्ती मनाउने अवसर प्राप्त गरेकोमा गर्व महशुष गरेको बताए। कार्यक्रममा नेपालका चार वटै डिष्ट्रिक्टका डिष्ट्रिक्ट गभर्नर ए वानका टंकबहादुर श्रेष्ठ, ए टु का डा.शुशीला मल्ल, बी वानका मनबहादुर रोका र बी टु का शम्भु नकर्मीले एक बर्ष भरी विभिन्न कार्यक्रमको आयोजना गरी लायन्सले स्वर्ण जयन्ती मनाउने भएको बताए।


























