जनकपुरधाम, साउन २४ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि महोत्तरीको गौशाला नगरपालिकाले एक हप्ताको लागि नगरभित्र लकडाउन गर्ने निर्णय गरेको छ।
शनिबार नगरपालिकाको कार्यालयमा भएको सर्वपक्षीय छलफलमा आइतबार राती ११ बजेदेखि साउन ३१ गते शनिबार ११ बजेरातीसम्म लागू हुने गरी लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख शिवनाथ महतोले जानकारी दिए।
नगरप्रमुख महतोको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकमा समुदायस्तरमै कोरोना संक्रमण फैलिने जोखिम बढेपछि अति आवश्यक औषधि पसल र स्वास्थ्य चौकी बाहेक हाटबजार, पसल, बैंक, वित्तीय संस्था, सवारीसाधन बन्द गर्ने निर्णय गरेको छ।
लकडाउन अवधिभित्र बाहिरी आउजाउको चक्र बन्द गरेर समुदायमा संक्रमणको अवस्था बुझ्न गौशाला उद्योग वाणिज्य संघको समन्वयमा पीसीआर प्रविधीबाट कोरोना परीक्षण गरिने नगर प्रमुख महतोले बताए।
यसभन्दा पहिले महोत्तरीको जलेश्वर नगरपालिका, भंगहा नगरपालिका, महोत्तरी गाउँपालिका बन्द गरिएको छ।


























