साउन २४ । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी प्रशिक्षणमा फर्किएका छन्।
इन्डियन प्रिमियर लिग (आईपीएल) को मिति तय भएपछि धोनीले प्रशिक्षण थालेका हुन्।
३८ वर्षीय धोनीले राँचीस्थित झारखण्ड स्टेट क्रिकेट एसोसियसनको मैदानमा प्रशिक्षण सुरु गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।
‘धोनीले गत साता एसोसियसनको मैदान भ्रमण गरेका थिए। उनले इन्डोर सुविधासहित अभ्यास गरिरहेका छन्। बलिङ मेसिनको सहायताबाट उनले ब्याटिङ अभ्यास गरिरहेका छन्,’ एसोसियसनका एक पदाधिकारीले भने।
चेन्नई सुपर किङ्सका कप्तान धोनीले सन् २०१९ को विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन्।
तर, आईपीएलबाट उनी राष्ट्रिय टिममा फर्कने तयारीमा छन्।
कोरोनाको महामारीको कारण यस वर्षको आईपीएल युएईमा आयोजना हुनेछ। आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने तालिका रहेको छ।
धोनीले आईपीएलमा चेन्नईका लागि १ सय ९० खेलमा ४ हजार ४३२ रन बनाएका छन्। धोनीले चेन्नईलाई तीन पटक आईपीएलको उपाधि दिलाएका छन्।
धोनीले सबै फर्म्याटमा भारतका लागि ३ सय ३२ खेल खेलिसकेका छन्। जसमा १ सय ७८ खेल जितेका छन्। धोनीले आफ्नो कप्तानीमा २ सय एकदिवसीय खेलमा भारतलाई १ सय १० खेल जिताएका छन्।
धोनीले कप्तानीको रुपमा भारतलाई सन् २००७ र २०११ को विश्वकप उपाधि दिलाएका थिए। एजेन्सी


























