चितवन, साउन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले माडीको अयोध्यापुरीलाई नै वास्तविक अयोध्या क्षेत्र बताउँदै माडीको प्रनिनिधीमण्डललाई विशेष भेटघाटका लागि राजधानी बोलाएसंगै नगरप्रमुखको नेतृत्वमा एक टोली काठमाडौं प्रस्थान गरेको छ।
नगरप्रमुख ठाकुर प्रसाद ढकालसंगै उपप्रमुख ताराकुमारी काजी महतो, प्रवक्ता एवं माडी नगरपालिका वडा नं ९ का वडाध्यक्ष शिवहरि सुवेदी, नेकपा माडी नगर अध्यक्ष प्रभुप्रसाद महतो, अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेल र सदस्य साध्यबहादुर भण्डारी सम्मिलित टोली राजधानी प्रस्थान गरेको हो। उनीहरुलाई प्रधानमन्त्री ओलीले विशेष समय दिएर राजधानी बोलाएका हुन्।
यसअघि, प्रधानमन्त्री ओलीले माडी नगरपालिकाका वडा नं ९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गरी माडीको अयोध्यापुरी नै वास्तविक अयोध्या क्षेत्र रहेको बताएका थिए। त्यस्तै, आउँदो रामनवमी पर्वमा ठूलो पुजा गरी राम मन्दिर निर्माणको काम सुरु गर्ने भन्दै उनले मेयर सहितको टोलीलाई राजधानी बोलाएका थिए।


























