काठमाडौं, साउन २३ । काठमाडौँको बौद्धस्थित चुच्चेपाटीमा गए राति एक व्यक्तिले श्रीमती र छोरीलाई तेजाब हानेको भनेर हल्ला चल्यो। घटना गम्भीर रहेको भन्दै प्रहरी तत्काल घटनास्थल पुग्यो तर अनुसन्धान गर्दा त्यहाँ तेजाब नभई रङमा लगाइने तारपिन तेल छ्यापेको पाइएको छ।
रङरोगनको काम गर्ने राजन विष्टले घर झगडा हुँदा गए राति श्रीमती र छोरीलाई उक्त तेल छ्यापेका हुन्। महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले तेजाब हानेको खबर आएपछि प्रहरी टोली पुगेर बुझ्दा तारपिन तेल छ्यापेको पाइएको राससलाई बताए। बढी रक्सी खाइरहने हुँदा विष्टकै कारण बेलाबेलामा घर झगडा हुने गरेको थियो। गए राति पनि सोही प्रक्रिया दोहोर्याउँदा उनले तारपिन तेलले हानेको पाइएको ज्ञवालीले बताए। छोरीको आँखामा तेल परेकाले तिलगङ्गा आँखा अस्पतालमा सामान्य उपचारपछि फर्किएको बताइएको छ। आमालाई भने केही भएको छैन। रासस


























