साउन २२ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ।
बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा अष्ट्रियन क्लब लिन्जेर एथ्लेटिक स्पोर्ट्स क्लब (एलएएसके) लाई २-१ ले पराजित गर्दै युनाइटेड अन्तिम आठमा पुगेको हो।
दोस्रो लेगको जितसँगै समग्रमा ७-१ को जितसहित युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा युनाइटेडले ५-० को जित निकालेको थियो।
ओल्ड ट्राफोर्डमा सुरुवाती एक गोलको अग्रता उल्टाएर युनाइटेडले जित निकालेको हो।
खेलको ५५ औं मिनेटमा फिलिप विसिंगारले गोल गर्दै एलएएसकेलाई अग्रता दिलाएका थिए।
तर,५७ औं मिनेटमा जेसे लिंगार्डले गोल गर्दै युनाइटेडलाई १-१ को बराबरीमा फर्काए।
त्यसपछि खेलको ८८ औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई २-१ को जित दिलाए।
अब युनाइटेडले क्वाटरफाइनलमा डेनिस क्लब एफसी कोपनहेगनसँग खेल्नेछ।
कोपनहेगन दोस्रो लेगमा टर्किस क्लब इस्तानबुललाई ३-० गोल अन्तरले हराएर समग्रमा ३-१ को जितसहित क्वाटरफाइनलमा पुगेको हो।
क्वाटरफाइनल खेल अगस्ट १० मा हुनेछ। एजेन्सी


























