कैलाली । जिल्लाको कैलारी गाउँपालिकामा बुधबारदेखि अनिश्चितकालिन लकडाउन शुरु गरिएको छ। गाउँपालिकाकाे क्वारेन्टिनमा कार्यरत एक स्वास्थ्यकर्मी, सुरक्षा गार्ड र भान्सेसहित सात जनामा मङ्गलबार कोरोना संक्रमण पुष्टि भएपछि बुधबार बसेकाे कोभिड–१९ सम्बन्धी समितिको बैठकले अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेकोे गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ७ का अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए। कोराना सङ्क्रमित बढ्दै गएको खण्डमा पूरै गाउँपालिका सिलबन्दी गर्नुपर्ने स्थिति पनि आउन सक्ने उनले बताए।
मङ्गलबार क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षा गार्ड र भान्सेसहित भारतको पुना, मुम्बईबाट आएर बसेका अन्य चार व्यक्तिमा कोरोना पोजेटिभ भेटिएको हो। पर्सा, वीरगञ्ज, राजविराजलगायत ठाउँमा जस्ताे भयावह स्थिति नआओस् भनेर पूर्व सचेतना अपनाइएको प्रवक्ता चौधरीले बताए। लकडाउनका बेला अत्यवाश्यक काम बाहेक घर बाहिर ननिस्कन र भीडभाड नगर्न गाउँपालिकावासी सबैलाई माइकिङमार्फत आग्रह गरिएकाे उनले बताए।


























