काठमाडौं, साउन २१ । नेपालका तीन महिला नेत्रहीन क्रिकेट खेलाडी ‘ज्योति केसी नेत्रहीन महिला क्रिकेट प्रतिभा पुरस्कार’ बाट सम्मानित भएका छन्।
नेपाल नेत्रहीन क्रिकेट संघले १५ औं वार्षिकोत्सवको अवसरमा बुधबार तीन खेलाडीलाई प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो।
संघले हरेक वर्षको साउन २२ गते वार्षिकोत्सव मनाउने गर्छ।
सम्मानित हुने खेलाडीमा बी-३ समूहतर्फ राष्ट्रिय टोलीका कप्तान समेत रहेकी भगवती भट्टराई, बी-२ बाट मनकेशी चौधरी र बी-१ बाट आशा रेगामी रहेकी छिन्।
उनीहरुलाई जनही ५/५ हजार र कदरपत्रबाट सम्मान गरिएको संघले जनाएको छ।
कप्तान भगवती विगत १४ वर्षबाट नेत्रहिन क्रिकेटमा संग्लग रहेकी छिन्। सन् २०१४ मा बेलायत र २०१९ मा पाकिस्तानसँगको सिरिजमा कप्तानी गर्दै नेपाललाई जित दिलाएकी थिइन्।
मनकेशी उत्कृष्ट ब्याटिङका लागि चर्चित छिन्। उनी बेलायत र पाकिस्तानविरुद्धको सिरिजमा प्लेयर अफ दि सिरिज बनेकी थिइन्।
आशा पनि १४ वर्षबाट नेत्रहीन क्रिकेटमा रहेकी छिन्। सन् २०१९ मा पाकिस्तानविरुद्धको सिरिजमा उनले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।


























